Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धुरन्धर २’को आँधी : ५ दिनमा ५ सय करोड पार

फिल्मीखबर, काठमाडौं, 2026/03/24

dhurandhar 2

 

अभिनेता रणवीर सिंह अभिनीत ‘धुरन्धर : द रिभेन्ज’ले यतिबेला भारतीय बक्स अफिसमा धमाका मच्चाइरहेको छ । १०२ करोड (१२१ करोड ग्रस)को कीर्तिमानी ओपनिङ गरेको यो फिल्मले प्रदर्शनको पाँच दिनमा अर्को नयाँ कीर्तिमान बनाएको छ । सोमबार फिल्मले भारतमा ५ सय करोडको आँकडा नघाएको हो । सोमबार मात्र फिल्मले ६५ करोडको व्यापार गर्‍यो ।

ट्रेड पोर्टल स्याकनिल्कका अनुसार दोस्रो दिन ८०.७२ करोड, तेस्रो दिन ११३ करोड र चौथो दिन ११४ करोड कमाइसहित फिल्मको ५ दिनको कमाइ ५१९ करोड नेट पुगेको छ । फिल्मले पाँचौं दिन गरेको कमाइलाई बलिउडको ‘अलटाइम रेकर्ड’ भनिएको छ । यसअघि पाँचौं दिनमा सर्वाधिक कमाउने हिन्दी फिल्म ‘पठान’ थियो, जसले लगभग ६० करोड कमाएको थियो ।

पाँच दिनमै भारतमा ५ सय करोड कमाएको ‘धुरन्धर २’को ग्रस कमाइ भने ६१९ करोड रहेको छ । र, ओभरसिज (विदेश)को २२५ करोडसहित फिल्मको विश्वव्यापी ग्रस कमाइ ८४४ करोड पुगेको छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा यसले पहिलो सातामै भारतमा साढे ६ सय करोड र विश्वव्यापी एक हजार करोडको आँकडा पार गर्न सक्ने देखिन्छ ।

‘धुरन्धर २’ले मंगलबारको कमाइबाट बलिउडका सर्वाधिक कमाउने तीन फिल्म ‘एनिमल’ (५५३ करोड), ‘पठान’ (५४३ करोड) र ‘गदर २’ (५२५ करोड)को रेकर्ड तोड्ने निश्चित देखिन्छ । फिल्मले मंगलबार ६० करोडमाथि कमाउने प्रक्षेपण गरिएको छ । यो हुँदा फिल्मको कमाइ झण्डै ५८० करोड पुग्नेछ । यसले भारतमा १५ सय करोडसम्म कमाउन सक्ने अनुमान गरिएको छ । 

‘धुरन्धर : द रिभेन्ज’को रनटाइम ३ घण्टा ४९ मिनेट रहेको छ, जसले यसलाई २१औँ शताब्दीको दोस्रो सबैभन्दा लामो बलिउड फिल्म बनाएको छ । बदला र ग्याङवारको कथामा आधारित यस फिल्ममा रणवीरसहित अर्जुन रामपाल, सञ्जय दत्त, आर माधवन लगायतको मुख्य भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले लेखन, निर्देशन तथा निर्माण गरेका हुन् ।