Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धुरन्धर २’को दबदबाबीच ‘हामी तीन भाइ’को बुकिङ खुल्यो

फिल्मीखबर, काठमाडौं, 2026/03/25

 

यतिबेला नेपालका हलमा भारतीय फिल्म ‘धुरन्धर : द रिभेन्ज’ले एकछत्र राज गरिरहेको छ । दर्शकहरूको उच्च चापका कारण काठमाडौंका कतिपय हलले दैनिक २०-२२ घन्टासम्म फिल्म चलाइरहेका छन् । तैपनि, टिकटको हाहाकार रोकिएको छैन । अवस्था कस्तोसम्म देखिएको छ भने आगामी शनिबारको शोको टिकट दर्शकहरूले अहिले नै काटिरहेका छन् ।

‘धुरन्धर २’को यो क्रेजबीच यही शुक्रबार (१३ चैत)बाट नेपाली फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आउँदैछ । यो फिल्मको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । तर, ‘धुरन्धर २’का कारण फिल्मले निकै न्यून शो पाएको छ । बुधबार दिउँसो १ बजेसम्म फिल्मलाई देशव्यापी १२ शो उपलब्ध भएको खल्ती एपमा देखिन्छ । यद्यपि, अझै केही हलमा बुकिङ खुल्न भने बाँकी छ ।

यो फिल्मलाई घरेलु बक्स अफिसमा ‘धुरन्धर २’सँगको प्रतिस्पर्धा नै सबैभन्दा ठूलो चुनौती बन्ने देखिन्छ । यस्तो अवस्थामा फिल्मको व्यावसायिक सफलताका लागि दर्शकीय प्रतिक्रिया निर्णायक बन्नेछ । २ दशकअघिको चर्चित फिल्म ‘हामी तीन भाइ’को नाम सापटी लिएर फिल्म बनेकाले दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टिम विश्वस्त देखिएको छ । 

मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, फलित राई, जाहन्वी बस्नेत, कुशल विष्ट, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, रमा बिष्ट, सुष्मा निरौला, विरेन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्मातामा छन् ।