Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघको अध्यक्षमा उठ्दै उत्तम र सविन

फिल्मीखबर, काठमाडौं, 2026/03/24

Saabin Shrestha and uttam kc

 

देशमा भर्खरै प्रतिनिधि सभाको चुनाव सम्पन्न भयो । यससँगै अब चुनावी गतिविधि फिल्म क्षेत्रमा सुरू हुन थालेको छ । कलाकारदेखि फिल्म पत्रकारहरू आबद्ध संस्थाको चुनाव अबको केही साताभित्र हुने तयारीमा छ । सबैभन्दा पहिला चलचित्र कलाकार संघको चुनाव हुँदैछ । यही चैत २८ गते संघको २१औं साधारण सभा तथा चुनावी महाधिवेशन आयोजना गरिएको छ ।

चुनाव नजिकिएसँगै कलाकारहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसपटक अध्यक्ष पदमा अघिल्लो र नयाँ पुस्ताका कलाकारहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्दै कलाकार उत्तम केसीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्काले समर्थन गरेका छन् ।

उत्तमसँग अध्यक्ष पदमा नयाँ पुस्ताका कलाकार सविन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । उनले मंगलबार सामाजिक सञ्जालबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले अनुभव, प्रतिबद्धता र स्पष्ट लक्ष्यसहित कलाकारको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित गर्न आफू अध्यक्ष पदमा अघि बढेको उल्लेख गरेका छन् । उनी संघका वर्तमान महासचिव हुन् । 

त्यस्तै, संघको चुनावमा शित्तल केसी, शिवहरि वैरागी, पनाह अधिकारी र उद्धव प्रसाद भट्टराई उपाध्यक्ष, सुनिल कटुवाल र रामेश्वर बुर्लाकोटी महासचिव, गोपाल ढकाल सचिव, पवित्रा आचार्य कोषाध्यक्ष तथा तेजुला खतिवडा र गीता नेपाल सह-कोषाध्यक्ष पदमा उठ्न लागेको बताइएको छ । वि.स. २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ ।