आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठ्ठी बादल’मा नयाँदेखि पुरानो पुस्ताका स्थापित कलाकारहरूको पल्टन नै छ । त्यसमध्ये सबैभन्दा कान्छो कलाकार भने अविरल प्रताप अधिकारी हुन् । यसमा उनले अभिनेत्री आँचल शर्माको भाइको भूमिकामा अभिनय गरेका छन् । यो उनी अभिनीत पहिलो फिल्म समेत हो ।
यस फिल्ममा अभिनयका लागि अविरलले गरेको धैर्यता सानो थिएन । दुईपटक त उनले अडियन नै दिए । पहिलो अडिसन उनले फिल्म बन्नुभन्दा करिब ५ वर्षअघि दिएका थिए । त्यसबेला उनी उमेरले १७ वर्षका मात्र थिए । त्यसबेला उनीसँग न अभिनयको ज्ञान थियो न त्यससम्बन्धी अनुभव । दुई पेजको सिनमा अभिनय गरेर उनले निर्देशकलाई भिडियो पठाएका थिए ।
उनी भन्छन्, ‘दुई पेजको सिनमा अभिनय गरेर पठाएपछि निर्देशक सहारा दिदी (शर्मा)ले पछि खबर गर्छौं भन्नुभएको थियो । त्यसको ५ वर्षपछि बल्ल खबर आयो । एकचोटि फेरि अडिसन दिएपछि मैले यो फिल्ममा काम गर्ने अवसर पाएँ ।’ अडिसनबाट छानिएको दिनलाई उनले जीवनकै अविस्मरणीय क्षणको रूपमा लिएका छन् ।

यो फिल्मले उनलाई ठूलो पर्दामा देखिने सपना मात्र पूरा गरेको थिएन, जीवनमै पहिलो पटक प्लेन पनि चढाएको थियो । उनी सम्झन्छन्, ‘यो फिल्मको सुटिङमा पोखरा जाँदा मैले पहिलो पटक प्लेन चढेको थिएँ । एडभेन्चर लागेको थियो । त्योबाहेक सेटको अनुभव पनि स्मरणीय रह्यो । सुटिङ सकिएको दिन त म भावुक भएर रोएको पनि थिएँ ।’
‘एक मुठ्ठी बादल’ अविरलको डेब्यू फिल्म भए पनि उनको पारिवारिक विरासत भने कलाकारितासँग नै जोडिएको छ । चर्चित कवि क्षेत्रप्रताप अधिकारी उनका हजुरबा हुन् भने कार्यक्रम निर्देशक अमनप्रताप अधिकारी उनका बुबा । परिवारको यही विरासत पछ्याउँदै उनले नाटक हुँदै फिल्म अभिनयमा पाइला चालेका हुन् । उनी यसै वर्ष अर्को फिल्म ‘पारी बुटोल’मा पनि देखिँदैछन् ।
फिल्ममा घरको एक्लो छोरो र दिदीहरूको मायाले पुलपुलिएको भाइको रूपमा अभिनय गरेका अविरल वास्तविक जीवनमा भने उति पुलपुलिएका छोरा वा भाइ होइनन् । घरमा उनी दिदीका भाइ हुन् तर फिल्ममा दिदीको भूमिकामा अभिनय गर्ने आँचल र उषा रजकभन्दा उनको दिदीसँगको सम्बन्ध फरक छ । यसैले घर र फिल्मको भाइबीच उनी समानता देखिँदैनन् ।
‘मैले पर्दा बाहिर बोल्ने शैली फरक छ तर फिल्ममा बेग्लै हिसाबले बोलेको छु । घरमा दिदीसँग हुर्किएकाले फिल्मभित्रको दिदी-भाइको मनोविज्ञान बुझ्न सजिलो भयो । तर, त्यो भाइ अर्कै हो भने फिल्मको भाइ अर्कै हो,’ उनले भने । फिल्ममा भाइ पात्र एकदमै महत्त्वपूर्ण रहेकाले आफ्नो चरित्रमा धेरै दिदीभाइले ‘रिलेट’ गर्ने उनको विश्वास छ ।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा निशा शर्मा, शेखर चापागाँई, आँचल शर्मा, उषा रजक, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, भिमा मैनाली, अस्मिता गौतम लगायतको अभिनय रहेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी निशा करिब तीन दशकपछि यही फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् ।

