
अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘मितज्यू’ आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसका टिजर र ‘गैराघरे काइँली’ गीतलाई दर्शकले रुचाएसँगै विदेशमा फिल्मको माग बढ्न थालेको छ । मंगलबार मात्र निर्माताले ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री गरेका छन् ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा प्रदर्शन अधिकार बिक्री भएको निर्माता जनक घर्ती मगरले जानकारी दिए । उनले प्रदर्शन अधिकारको बिक्री रकम भने खुलाएका छैनन् । उनका अनुसार अन्य देशहरूमा पनि फिल्मको प्रदर्शनका लागि छलफल भइरहेको छ ।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र सौगातसहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन (खबपु) लगायतका कलाकारहरूको अभिनय रहेको छ । यही फिल्मबाट चर्चित डान्सर तेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् ।
मितेरी साइनो (मित लगाउने परम्परा)को कथामा आधारित यस फिल्ममा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, शैलेश श्रेष्ठको पार्श्व संगीत, मुकेश शाहको साउन्ड तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । गीतको चर्चा र कलाकारको बलियो ‘लाइनअप’का कारण फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

