
यस वर्षको पहिलो सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ले नेपालमा ११ करोडमाथिको व्यापार गर्दै ४० भन्दा बढी हलमा प्रदर्शनको ५१ दिन पूरा गरेको थियो । सोही उपलब्धि फिल्मले भारतमा पनि हासिल गरेको छ । गत मंसिर ५ गतेदेखि भारतमा प्रदर्शन सुरु गरेको फिल्मले शनिवार ६ वटा हलमा ५१ दिन मनाएको हो । भारतभर ४० वटा हलमा फिल्म रिलिज भएको थियो ।

निर्देशक यम शेर्पाको पहिलो फिल्म ‘कार्साङ’ गत वर्षको पुषमा प्रदर्शन भएको थियो । यो फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसके पनि उनले लगत्तै अर्को फिल्म ‘मिरमिरे’को निर्माण घोषणा गरे, जुन माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा यमले ‘कार्साङ’कै जोडी दयाहाङ राई र सिर्जना निङलेखुलाई दोहोर्याएका छन् भने प्रकाश सपूतको पनि मुख्य भूमिका छ ।

नेपाली रजतपटमा प्रतीक्षित प्रेम कथानक फिल्म 'कुमारी'ले आफ्नो प्रदर्शनअघि नै दर्शकमाझ छुट्टै रौनक फैलाउन सुरु गरेको छ। आगामी माघ २३ गते प्रदर्शन हुने तयारीमा रहेको यस फिल्मले आफ्नो प्रवर्द्धनका लागि 'कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा'को आयोजना गर्ने भएको छ।

आगामी माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बिगुल’को नयाँ गीत ‘वनको कोइली वनमै रमायो’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत मनोज चौलागाईंको हो । युवायुवतीबीचको प्रेम र आपसी आकर्षणलाई केन्द्रमा राखेर गीत तयार पारिएको छ ।

आगामी माघ १६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’को नेवारी भर्सन सार्वजनिक गरिएको छ । नेपाली भाषाको गीत दर्शकमाझ लोकप्रिय बनिरहँदा निर्माण पक्षले नेवारी भर्सन तयार पारेको हो । गीतमा यमन श्रेष्ठको स्वर छ भने शब्द तथा संगीत बाबुल गिरीको हो । गीतको नेवारी अनुवाद कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् ।

नेपालका हलमा प्रायः फिचर फिल्म मात्र चल्ने गरेको भए पनि धेरैपछि वृत्तचित्र प्रदर्शनमा आएको छ । ‘दिमाग घोच्ने मान्छे’ नामक वृत्तचित्र शुक्रबारबाट हलमा लागेको हो । काठमाडौंसहित दमौली, इटहरी, भरतपुर, पोखरा, नेपालगञ्ज लगायतका विभिन्न सहरका हलमा प्रदर्शन भएको यो वृत्तचित्रले देशव्यापी एक दर्जन हाराहारी शो पाएको छ ।

