हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) करिब ६ महिना लामो अमेरिका बसाइँपछि नेपाल फर्किएका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै यसबारे जानकारी गराएका हुन् । उनी गत वर्षको मंसिरमा परिवारसहित अमेरिका गएका थिए । त्यसबेला उनी अमेरिका पलायन भएको भन्दै व्यापक टिका–टिप्पणी भएको थियो ।
सीतारामले आफू नेपाल फर्किएको जानकारी दिँदै अब न्याय मिल्ने आशा व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु । आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ ।’
उनले उक्त पोस्टमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अगाडि फाइल बोकेको एउटा तस्वीर पनि राखेका छन् । यसको अर्थ गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका क्रममा लागेको ऋणको विवाद सुल्झाउन उनी फेरि मन्त्रालय धाउन थालेका छन् । यसअघि थुप्रैपटक उनले ऋण फर्स्यौटका लागि विभिन्न मन्त्रालय पुगेर हारगुहार गरेका थिए ।
सीताराम दम्पतीले २०७५ माघ १६ मा तामझामसहित चितवनमा क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए । तर, पछि आर्थिक अभावका कारण रंगशालाको निर्माण रोकियो । २०८० सालमा संघीय सरकारले रंगशालाको जिम्मा लिएर निर्माणको काम अगाडि बढायो । तर, ‘धुर्मुस’ले रंगशाला बनाउन लिएको ऋण र उधारो सामानको रकम भने अझै चुक्ता हुन सकेको छैन ।
५ वर्षसम्म विभिन्न मन्त्रालय धाउँदा पनि रंगशालाको ऋण फर्स्यौट हुन नसकेपछि उनी निराश भएर छोरीको उपचारका लागि भन्दै अमेरिका गएका थिए । डेढ वर्षअघि अमेरिकाको ग्रीनकार्ड समेत लिइसकेका उनी रंगशालाको ऋण फर्स्यौट गर्न ६ महिनापछि नेपाल फर्किए पनि उनकी श्रीमती कुञ्जना घिमिरे र छोरी भने अमेरिकामा नै छन् ।

