
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । शुक्रबारदेखि काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा उपचारार्थ उनको आइतबार दिउँसो १२: ४५ बजे ब्रेन ह्यामरेजका कारण निधन भएको हो । उनको आइतबार साँझ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । ४५ वर्षका उनी अविवाहित थिए ।

कङ्ग फू मास्टरको रूपमा परिचित हलिउड अभिनेता ज्याकी च्यानले आफूले ‘फेयरवेल’ गीत रेकर्ड गराएको खुलासा गरेका छन् । उनले हालै चीनको राजधानी बेइजिङमा आफ्नो नयाँ फिल्म ‘अनएक्सपेक्टेड फेमिली’को प्रिमियरको क्रममा यसबारे खुलासा गरेका हुन् । उनले उक्त गीत आफ्नो निधनपछि रिलिज हुने र दुनियाँका लागि त्यही नै आफ्नो अन्तिम सन्देश हुने बताएका छन् ।

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को टिमले युवासँग फिल्म, संगीत र मिडियाको विषयमा रचनात्मक छलफल गरेको छ । बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा फिल्मको टिमसँगै विभिन्न क्याम्पसका विद्यार्थी र युवाहरूसहित ५ सयभन्दा बढी सहभागी थिए ।

यस वर्षको सफल फिल्म ‘मोहर’मा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले जोडी भएर काम गरेका थिए । तर, यतिबेला रोचक संयोग के जुरेको छ भने दुवैको नयाँ फिल्म शुक्रबारबाट एकैसाथ प्रदर्शनमा आएका छन् । पल अभिनीत ‘आ बाट आमा’ र बेनिशा अभिनीत ‘द ब्लू लाइट’ बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका हुन् । दुवै फिल्म विषयका हिसाबले भने फरक छन् ।

अक्सर नेपाली फिल्म हलमा फ्लप र युट्युबमा सुपरहिट हुने गरेका छन् । युट्युबमा निःशुल्क हेर्न पाइने सुविधा भएकाले प्रायः फिल्मलाई उल्लेख्य भ्यूज मिल्ने गरेको छ । यद्यपि, युट्युबमा भ्यूजको खडेरी देखिएका स्थापित कलाकारहरूकै फिल्म पनि धेरै छन् । यस्तोमा फिल्म ‘ऊनको स्वीटर’ले हलसँगै युट्युबमा पनि लोभलाग्दो सफलता पाएको छ ।


