
नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले गत वर्ष २५औं वार्षिकोत्सव मनाउँदै गर्दा सोही अवधिसम्म बक्स अफिसमा ७ करोडमाथि व्यापार गर्ने २५ फिल्मलाई सम्मान गरेको थियो । जसमा ‘पूर्णबहादुरको सारङ्गी’देखि ‘पशुपतिप्रसाद २ : भष्मे डन’सम्म परेका थिए । यो सूचीमा सबैभन्दा धेरै फिल्म दीपकराज गिरी समूहको थियो ।
तर, बोर्डको उक्त सूचीमा अहिलेका चल्तीका अभिनेता अनमोल केसीको एउटा पनि फिल्म नपर्दा उनको पारिश्रमिक मात्र ठूलो भन्दै टिकाटिप्पणी भएको थियो । बोर्डले मंगलबार २६औं वार्षिकोत्सवका क्रममा सार्वजनिक गरेको २६ वर्षका ३१ ब्लकबस्टर फिल्मको सूचीले भने उनलाई ठूलो राहत दिएको छ । किनभने, उक्त सूचीमा उनको पनि एउटा फिल्म समावेश भएको छ ।
३१ ब्लकबस्टर फिल्मको सूचीमा अनमोल अभिनीत फिल्म ‘जेरी अन टप’ १२ करोड २८ लाख कमाउँदै १४औं स्थानमा परेको छ । यसअघि २५ फिल्मको सूचीमा १४औं स्थान ‘बोक्सीको घर’को थियो । अब यो फिल्म १७औं स्थानमा पुगेको छ । गत वर्ष प्रदर्शन भएको ‘जेरी अन टप’ अनमोलको करिअरको सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो ।
यस वर्ष बोर्डले सार्वजनिक गरेको ३१ ब्लकबस्टर फिल्मको सूचीमा १७ करोड ७६ लाखसहित चौथो स्थानमा ‘परान’, १३ करोड २० लाखसहित १२औं स्थानमा ‘आ बाट आमा’, ९ करोड ३१ लाखसहित १९औं स्थानमा ‘लालीबजार’, ९ करोड २६ लाखसहित २०औं स्थानमा ‘लुट २’ र ७ करोड २० लाखसहित ३१औं स्थानमा ‘आगो’ परेको छ । यीमध्ये ‘आगो’ दशकअघिको फिल्म हो ।

