.jpeg)
संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मन बिनाको धन २’मा कलाकारको लाइनअप बलियो बनेको छ । पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल, किरण केसी अनुबन्धित भइसकेको यस फिल्ममा अब अभिनेता विपिन कार्कीको प्रवेश भएको छ । मंगलबार उनीसँग निर्देशक बुढाथोकीले लिखित सम्झौता गरेका हुन् ।
फिल्ममा विपिनको भूमिकाबारे निर्माण पक्षले कुनै जानकारी गराएको छैन । तर, निकट स्रोतका अनुसार फिल्मको कथा उनीमाथि नै केन्द्रित हुनेछ । फिल्मका लागि उनले आकर्षक पारिश्रमिक बुझेको जनाइएको छ । पछिल्लो समय उनले ५० लाखभन्दा कममा फिल्म खेलेका छैनन् । ‘मन बिनाको धन २’मा पनि उनले यही आसपास पारिश्रमिक बुझेको हुनसक्ने अनुमान छ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा टंक स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । फिल्मका गीतमा निर्देशक बुढाथोकी स्वयंको संगीत रहनेछ । भदौ पहिलो साताबाट छायांकन सुरु गर्न लागिएको फिल्मका निर्मातामा विष्णु माया मैनाली रहेकी छन् । यो उनको दोस्रो निर्माण हो ।
‘मन बिनाको धन’ संगीतकार बुढाथोकीको चर्चित गीतमध्ये एक हो । करिब ७ वर्षअघि रिलिज भएको यस गीतलाई अहिलेसम्म युट्युबमा तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यो बाल गायक अशोक दर्जीको पहिलो गीत समेत हो । यही नामको फिल्ममा पनि अशोक मुख्य भूमिकामा थिए । यसको दोस्रो भागमा भने उनको अभिनयबारे कुनै जानकारी गराइएको छैन ।

