
चर्चा र विवादकी पर्याय मानिएकी अभिनेत्री सुष्मा कार्की ४ वर्षयता फिल्ममा देखिएकी छैनन् । अब उनको विशेष भूमिका रहेको फिल्म ‘उपहार’ आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा रेखा थापा, बेनिशा हमाल र पूजा शर्मा पनि मुख्य भूमिकामा छन् । पूजासँग वर्षौंदेखिको शीतयुद्धका बावजूद उनले एकसाथ काम गरेकाले फिल्मप्रति धेरैमा चासो देखिन्छ ।

यस वर्षको सुपरहिट फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले आफ्नो दोस्रो फिल्म ‘मनसरा’को छायांकन सकाएका छन् । गत पुष २१ गतेबाट सुरु भएको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरी ३० दिनमा सकिएको हो । शनिबार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले फिल्मको अन्तिम दृश्य दिएका थिए । यसअघि ‘जारी’मा पनि उनीहरुको जोडी बाँधिएको थियो ।

गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’पछि नेपाली फिल्मको व्यापार डामाडोल भएको थियो । बलिउड र साउथ फिल्मले नेपालमा करोडौं कमाउँदा घरेलू फिल्म भने एक हप्ता पनि हलमा टिक्न सकेका थिएनन् । जसले गर्दा बक्स अफिसलाई चलायमान बनाउन आशातित फिल्मको प्रतिक्षा भइरहेको थियो । त्यसमध्ये ‘हात्तीछाप’ र ‘दयारानी’प्रति धेरैको ठूलो अपेक्षा थियो ।


आगामी फागुन १८ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘अगस्त्य’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘भ्यालेन्टाइन विक’को अवसर पारेर सार्वजनिक ‘मायामा तिम्रै मायामा’ बोलको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री मलिका महत फिचरिङ छन् । गीतहरुले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा तराई क्षेत्रको भूगोल र त्यहाँको जनजीवनलाई आकर्षक रुपमा चित्रण गरिएको छ ।

फिल्म प्रदर्शनको गर्विलो इतिहास बोकेको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमार्फत् जनाएका छन् । हल सधैंका लागि बन्द गरिएको हो वा सीमित समयका लागि, त्यो भने खुलाइएको छैन ।

