मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङ र मिरुनाको ‘मनसरा’ ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2024/04/17

mansarra

 

पहिलो फिल्म ‘जारी’बाटै ठूलो व्यावसायिक सफलता हासिल गरेका निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे ४ मिनेट लम्बाईको ट्रेलरले सहर नजिककै एक बस्तीमा बस्ने दुई अलग समुदायका पात्रको कथालाई पेश गरेको छ । विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबीचको नोकझोंक र आकर्षणमा ट्रेलर केन्द्रित छ ।

ट्रेलरको सुरुवात र अन्त्य पालाम (लिम्बू गीत)बाट गरिएको छ, जहाँ अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेमालाप छ । यसले उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको बुझाउँछ । तर, ट्रेलरको अरु दृश्यमा मिरुनालाई एक बस्तीमा छोराको साथमा सुँगुर पालेर गुजरा चलाइरहेकी देखिन्छ । उनीप्रति प्रवीण खतिवडा आकर्षित हुन्छन्, जो दूध बेच्ने गर्छन् । उनको श्रीमतीको भूमिकामा मेनुका प्रधान छिन् । उनको लवज नेवारी सुनिन्छ ।

मिरुनाप्रति प्रवीण आकर्षित भएपछि घरझगडा बढ्छ । मेनुका माइत लाग्छिन् । त्यसपछि मिरुनाको छोरासँग प्रवीणको निकटता र उनीप्रति मिरुनाको आकर्षणलाई ट्रेलरमा देखाइएको छ । एक दृश्यमा दयाहाङ सहरका पोलमा मिरुना हराएको सूचना टाँस्दै हिँडेका देखिन्छन् । र, अन्तिम दृश्यतिर कसैलाई बोलाउँदै उनी सडकमा दौडिरहेका छन् । समग्रमा ट्रेलरले अन्तरजातीय सम्बन्धको कथालाई भन्न खोजेको देखिन्छ ।

निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक (कवि), जीवन बराल, अनिल सुब्बा, लोकमणी सापकोटा लगायतको पनि अभिनय छ । फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने छायाँकार पनि उनी नै हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्ण कुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह-निर्मातामा छन् । यही बैशाख २१ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।