Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाः एक योद्धा’को यूटर्न, अब ‘आचार्य’सँग भिड्ने

फिल्मीखबर, काठमाडौं, 2026/09/11

baa: ek yodha

 

कृष्ण जन्माष्टमीमा रिलिजको तयारीमा रहेको फिल्म ‘बाः एक योद्धा’ रसुवा बाढीका कारण निर्धारित मितिमा प्रदर्शन हुन सकेन । त्यसपछि मंसिर २४ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको थियो । तर, फिल्म फेरि ‘यूटर्न’ भएको छ । अब फिल्मलाई असोज ९ गते (२५ सेप्टेम्बर)देखि प्रदर्शन गरिने भएको छ । यो मितिमा यसअघि नै ‘आचार्य’ र ‘जदौ’ छन् ।

निकट स्रोतका अनुसार यसै साता सञ्चारकर्मी प्रकाश सुवेदीसहित केही व्यक्तिलाई फिल्म देखाइएको थियो । त्यस प्रदर्शनीमा उपस्थित सबैले उत्साहजनक प्रतिक्रिया दिएपछि निर्माण पक्षले असोज ९ गते फिल्म प्रदर्शन गर्ने निधो गरेको हो । निर्माताले असोज ३१ गतेदेखि सुरु हुने दशैं बिदालाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको देखिन्छ ।

संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, माओत्से गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक समेत रहेका उनले यसअघि फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।

अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा कृष्ण काफ्ले सह-निर्मातामा छन् । फिल्ममा शिवराम श्रेष्ठको छायाकंन, मित्र डी गुरुङको सम्पादन, हरि लम्सालको संगीत, रोमन बज्राचार्यको पार्श्व संगीत तथा सुरेन राईको नृत्य निर्देशन रहेको छ । फिल्मले सन्तानको भविष्यका लागि बुबाले गर्ने संघर्षको कथा प्रस्तुत गर्ने जनाइएको छ ।