
पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको मुख्य भूमिका रहेको फिल्म ‘अक्षरा’ गत भदौ २६ गते प्रदर्शनको तयारीमा थियो । फिल्मको बुकिङ समेत खुला भइसकेको अवस्थामा रसुवा बाढीको कारण देखाउँदै मंसिर २४ गतेलाई नयाँ प्रदर्शन मिति तय गरियो । तर, अब फिल्म दसैंको छेको पारेर असोज २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

गत शुक्रबार (९ असोज)बाट प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘आचार्य’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी पूर्णिका सिजापति अब नयाँ फिल्म ‘हाम्रो सानो घर’मा देखिने भएकी छन् । सुमन गजमेरको निर्देशनमा बन्न लागेको फिल्ममा उनलाई यसै साता मुख्य भूमिकामा अनुबन्धित गरिएको हो । उनको भूमिकाबारे भने निर्माण पक्षले खुलाएको छैन ।

तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ यस वर्षको सर्वाधिक कमाउने तेस्रो फिल्म बनेको छ । सोमबार सार्वजनिक चलचित्र विकास बोर्डको सिनेपाः विवरणअनुसार आइतबार (हिजो)सम्म फिल्मले सात करोडमाथिको व्यापार गरेको छ । फिल्मको पहिलो १० दिनको कमाइ नै झन्डै चार करोड हाराहारी थियो ।

आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रतिवैरम्’को पहिलो गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ ल्याइएको आइटम गीतमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ । गहृतिका श्रेष्ठले गीतमा स्वर दिएकी छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘जदौ’ले बक्स अफिसमा आफ्नो व्यापार उकास्ने प्रयास गरिरहेको छ । शुक्रबार र शनिबार औसत अकुपेन्सी हासिल गरेको फिल्मले दर्शकबाट भने सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्म हेरेका दर्शकले कथावस्तु र कलाकारको अभिनय मन पराएका छन् । विशेषगरी फिल्मको क्लाइमेक्स बढी रुचाइएको छ ।

निरन्तरको झरीका बीच शुक्रबार (९ असोज)बाट प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले बक्स अफिसमा अपेक्षित ओपनिङ गर्न सकेन । शनिबार समेत फिल्मको अकुपेन्सी औसत रह्यो । तर, फिल्मलाई दर्शकीय प्रतिक्रिया भने उत्साहजनक देखिन्छ । फिल्म हेरेपछि विशेषगरी महिला दर्शकहरू हलबाट रुँदै समेत निस्किएका छन् ।

