
२०८२ सालको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’मा फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्मको नाम ‘कलेजी ऊनको स्वीटर’ राखिएको छ । सन् २०२७ (२०८४)मा प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको छायांकन दशैंपछि सुरु हुनेछ ।

आगामी शुक्रबार (५ भदौ)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’ले दर्शकका लागि आकर्षक अफर ल्याएको छ । निर्माण पक्षले फिल्म हेर्दा स्कुटर जित्ने योजना अघि सारेको हो । भदौ ३ गतेदेखि भदौ ९ गतेसम्म खल्ती एपबाट फिल्मको टिकट काट्नेमध्ये एकजना दर्शकले ‘बीगस’ ब्रान्डको २ लाखमाथि पर्ने इभी स्कुटर प्राप्त गर्नेछन् ।

विगत एक दशकदेखि फिल्मको असफलतासँग जुधिरहेका अभिनेता इमरान हाश्मीका लागि सन् २०२६ सुखद बन्ने देखिएको छ । शुक्रबार (२९ साउन)बाट प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘आवारापन २’ले बक्स अफिसमा सानदार सुरुवात गरेको छ । यो उनको दुई दशक लामो अभिनय करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ ।

भुटानी, नेपाली र हिन्दी भाषामा तयार भएको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता प्रदीप खड्का क्रियटिभ प्रोड्युसर रहेको यस फिल्मको टिजरमा एउटा टनेलभित्र जोम्बी बनेका मानिसहरू र उनीहरूबाट जोगिन गरिएको संघर्षलाई देखाइएको छ । टिजरले कोरियन ड्रामा ‘ट्रेन टु बुसान’को झल्को दिएको छ, जुन जोम्बी कथामा आधारित थियो ।

अभिनेत्री रेखा थापाको निर्देशकीय कमब्याक फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट १८ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । प्रेम र बाध्यताको चेपुवामा परेका एक पात्रको जीवनमा आउने उतारचढावलाई टिजरमा देखाउन खोजिएको छ ।

नेपाली फिल्मको ‘स्क्रिप्ट राइटर’को रूपमा परिचित सुमन गजमेरले अब फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले फिल्म ‘हाम्रो सानो घर’बाट निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन् । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । दशैंपछि छायांकन सुरु हुने फिल्मले जेनजी पुस्ता (जेनेरेसन–जेड)को कथा भन्नेछ ।

