Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हिमालयन गोल्ड’ अन्डरडग कथा हो : धीराज राजवंशी

फिल्मीखबर, काठमाडौं, 2026/11/12

Dhiraaj Rajbanshi

 

काठमाडौं । अमेरिकाको लस एन्जलसमा फिल्म निर्देशन तथा निर्माण विषयमा अध्ययन गरेका धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ गते (२० नोभेम्बर)बाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ । भारतमा फिल्मको वितरण ‘एए फिल्म्स’ले गर्नेछ, जुन बलिउड अभिनेत्री रवीना टन्डनका श्रीमान् अनिल थडानीको हो । 

फिल्ममा धीराजले यार्सागुम्बा (शक्तिवर्धक जडिबुटी)को कथा उठाएका छन् । आफू मुख्य सहायक निर्देशक रहेको फिल्म ‘खुस्मा’को छायांकनका लागि रुकुम पूर्व पुगेका बेला उनी यो कथामा फिल्म बनाउने निर्णयमा पुगेका थिए । स्थानीयबाट रुकुममा सबैभन्दा राम्रो यार्सागुम्बा पाइन्छ भन्ने थाहा पाएपछि उनी कथाको खोजीमा यार्सागुम्बा पाइने क्षेत्रमै पुगेका थिए ।

उनी सम्झन्छन्, ‘म पुग्दा भर्खर यार्सागुम्बा टिप्ने सिजन सुरु भएको रहेछ । त्यहाँ पुगेपछि माओवादी द्वन्द्वकालमा यार्सागुम्बा टिपेर फर्किएका व्यक्तिहरूमाथि कसरी लुटपाट हुन्थ्यो र मानिसहरू कसरी रुकुम जान्थे भन्ने थाहा पाएँ । त्यसपछि ‘ल यसमा चाहिँ कथा छ है’ भन्ने लाग्यो । मलाई लाग्छ यो कथा अहिलेसम्म कसैले फिल्ममा भनेका पनि छैनन् ।’

उनका अनुसार ‘हिमालयन गोल्ड’ सन् १९९० को परिवेशमा आधारित छ । त्यो समयमा सुरक्षा अभावका कारण यार्सागुम्बा टिप्ने व्यक्तिमाथि हुने लुटपाटको घटनालाई फिल्ममा प्रस्तुत गरिएको उनको भनाइ छ । फिल्ममा रुकुम, डोल्पा, रोल्पा र मनाङको समुदाय यार्सागुम्बामा कसरी निर्भर छ भन्ने पनि देखाइएको उनले बताए ।

धीराजका अनुसार फिल्मको कथा तयार पार्न झन्डै डेढ वर्ष लागेको थियो । उनी स्क्रिप्ट लेख्न मुस्ताङदेखि डोल्पासम्म पुगेका थिए । उनलाई फिल्मको छायांकन पनि यार्साको उद्गमस्थल डोल्पामा गर्न मन थियो । तर, बाटोको असुविधाका कारण उनले छायांकनका लागि मुस्ताङ रोजे । त्यहाँ पनि समुद्री सतहबाट ४,८०० फिटमाथि छायांकन गरिएको उनको भनाइ छ । 

उनी ‘हिमालयन गोल्ड’लाई अन्डरडगको कथा भन्न रुचाउँछन् । यसैले फिल्मलाई दर्शकले मन पराउनेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘यो अन्डरडग कथा हो । फिल्मको हिरो नै परीक्षा लिम्बू हुन् । फिल्ममा उनको पात्र निकै संघर्षशील र बहादुर छ । एउटा साधारण केटीले कसरी लुटेराहरूसँग बदला लिन्छिन् भन्ने नै फिल्मको मुख्य कथा हो ।’

अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा परीक्षासहित सुनील थापा, कर्मा शाक्य, मेनुका प्रधान, राहुल एन.मुखिया, सजन थापा, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारीलगायतको अभिनय छ । मीनबहादुर भाम निर्माता रहेको फिल्मका सह-निर्माता सुयश ज्ञवाली र कायकारी निर्माता राजु राजवंशी हुन् ।