Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाटुलो जून’ले तोड्ला ‘रामायण’को दबदबा ?

फिल्मीखबर, काठमाडौं, 2026/11/12

Anmol Kc

 

काठमाडौं । एक सातादेखि नेपालका हलमा भारतीय फिल्म ‘रामायण : राइज अफ अ लेजेन्ड’ले आफ्नो दबदबा कायम गरेको छ । प्रदर्शनको एक सातामा नेपालमा १० करोड हाराहारीको व्यापार गर्नुले पनि फिल्मप्रति दर्शकको आकर्षण असाधारण रहेको देखाउँछ । यो फिल्मको सामु गत साता प्रदर्शन भएको नेपाली फिल्म ‘पाँच पाण्डव’ समेत बक्स अफिसमा निरीह बन्यो । 

अब ‘रामायण’लाई चुनौती दिन अर्को नेपाली फिल्म प्रतिस्पर्धामा उत्रिएको छ । त्यो हो, ‘बाटुलो जून’ । भुवन केसीको निर्देशन तथा अनमोल केसीको अभिनय रहेको फिल्मले अग्रिम टिकट बुकिङबाटै ‘रामायण’को दबदबा तोड्ने छनक देखाएको छ । फिल्मलाई देशव्यापी उपलब्ध २ सयभन्दा बढी शोमा बिहीबार बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । 

काठमाडौं उपत्यकाका क्यूएफएक्स हल, बिग मुभिज, एफक्यूब, कीर्तिपुर सिनेप्लेक्स, वान् सिनेमाजसहित विर्तामोड, दमक, धरान, इटहरी, चितवन, नेपालगन्ज, पोखरा, बुटवल, दमौलीलगायतका हलमा फिल्मका धेरैजसो शो हाउसफुल नजिक देखिएका छन् । केही शो ‘सोल्डआउट’ समेत भएका छन् । यसले फिल्मको ओपनिङ उत्साहजनक हुने संकेत गर्छ ।

४० को दशकको नेपाली परिवेश र त्यसबेलाको प्रेमकथामा आधारित ‘बाटुलो जून’मा अनमोल गाउँले भूमिकामा प्रस्तुत भएका छन् । उनको जोडी प्रिन्सी खतिवडासँग बाँधिएको छ । टिकटकमा निकै चर्चित रहेकी प्रिन्सीको यो डेब्यू फिल्म हो । यसमा भुवन केसी र गरिमा शर्माको पनि मुख्य भूमिका छ । उनीहरूको युवावस्थाको भूमिका अनमोल र प्रिन्सीले निर्वाह गरेका छन् ।

जीया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी, संगी अधिकारीलगायतका कलाकारको पनि अभिनय छ । फिल्मको लेखन सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन् ।