
निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन सकाएका छन् । आइतबार पोखरामा अन्तिम दृश्य खिचिएसँगै ४० दिनमा फिल्मको छायांकन पूरा भएको हो । फिल्मको अधिकांश छायांकन पोखरामै गरिएको हो । असोज ८ गतेदेखि देशभर निरन्तर वर्षा हुँदा तीन दिन फिल्मको छायांकन समेत स्थगित गरिएको थियो ।

यही शुक्रबार अर्थात् असोज २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अक्षरा’ले प्रचार अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा आइतबार फिल्मको टिमले काठमाडौंमा साइकल र्याली गरेको छ । कीर्तिपुरबाट सुरु भएको साइकल र्याली कपनस्थित क्लब मण्डलासम्म पुगेको थियो । र्यालीमा २ सय ५० भन्दा बढी साइकल यात्रीहरू सहभागी थिए ।

हरर जनरामा निर्माण भएको फिल्म ‘भिडियोटेप’को छायांकन सकिएको छ । शुक्रबार साँझ काठमाडौंको एक क्लबमा अन्तिम दृश्य खिचिएसँगै ३१ दिनमा फिल्मको छायांकन पूरा भएको हो । भदौ पहिलो साताबाट उपल्लो मुस्ताङमा फिल्मको छायांकन सुरु गरिएको थियो । अन्तिम तीन दिनको छायांकन भने काठमाडौंमा गरिएको हो ।


जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ । शुक्रबार एक भिडियोमार्फत फिल्म निर्माणको घोषणा गरिएको हो । भिडियोलाई रमाइलो शैलीमा तयार पारिएको छ, जसमा निर्देशकको पछिल्लो फिल्म नै रिलिज हुन नसकेकोजस्ता प्रसंग राखिएको छ । भिडियोको प्रस्तुति शैली हेर्दा फिल्म हास्यप्रधान हुने देखिन्छ ।

दसैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ । शिव परियार र सरोदी कुमार (बोरा)को स्वर रहेको गीतमा युग भुसालको शब्द तथा संगीत छ । सरोदी भारतीय गायिका हुन् । उनले भोजपुरी र हिन्दी फिल्मका थुप्रै गीतमा स्वर दिइसकेकी छन् ।

