.jpg)
काठमाडौं । आन्ध्र प्रदेशका उपमुख्यमन्त्री तथा अभिनेता पवन कल्याणले आफ्नो करिअरमा थुप्रै सफल फिल्म दिएका छन् । तर, उनको व्यक्तिगत जीवन भने फिल्मी करिअरजस्तो सफल छैन । वैवाहिक जीवनमा उनले पटक–पटक उतारचढाव भोग्नुपरेको छ । तीन पटक विवाह गरेका उनले हालै तेस्रो श्रीमतीसँग पनि सम्बन्धविच्छेद गरेका छन् ।
दुई दिनअघि पवन र उनकी श्रीमती एना कोनिडेलाले संयुक्त रूपमा एक वक्तव्य जारी गर्दै आपसी सहमतिमा आफूहरू अलग भएको बताएका छन् । विवाह बन्धनमा बाँधिएको १३ वर्षपछि उनीहरू कानुनी रूपमा छुट्टिएका हुन् । रूसी मोडल तथा अभिनेत्री समेत रहेकी एनासँग पवनले ३० सेप्टेम्बर २०१३ मा विवाह गरेका थिए । उनीहरूबाट एक छोरी र एक छोरा छन् ।
पवनको पहिलो विवाह भने फिल्ममा डेब्यूको एक वर्षपछि अर्थात् सन् १९९७ मा नन्दिनीसँग भएको थियो । तर, नन्दिनीसँग वैवाहिक सम्बन्धमै रहँदा उनी अभिनेत्री रेनु देसाईसँग लिभइन रिलेसनसिपमा थिए । पछि नन्दिनीले अदालतमा पवनविरुद्ध मुद्धा हालिन् र सन् २००७ मा उनीहरूको सम्बन्धविच्छेद भयो । उनीहरूबाट एक छोरा छन्, अकिरा नन्दन ।
नन्दिनीसँग सम्बन्धविच्छेद गरेको दुई वर्षपछि सन् २००९ मा पवनले रेनु देसाईसँग दोस्रो विवाह गरे । तर, यो विवाह पनि टिक्न सकेन । छोरी आध्याको जन्मपछि सन् २०१२ मा उनीहरू कानुनी रूपमा अलग भए । भारतीय मिडियाका अनुसार पवन रेनुसँग भने छुट्टिन चाहेका थिएनन् । त्यसका लागि उनले वकिलमार्फत धेरै प्रयास पनि गरेका थिए । तर, त्यो सफल हुन सकेन ।
एना कोनिडेलासँग भने पवनको भेट सन् २०११ मा तेलुगु फिल्म ‘तीन मार’को छायांकनका क्रममा भएको थियो । यस फिल्ममा पवन मुख्य भूमिकामा थिए भने एनाको पनि छोटो तर महत्वपूर्ण भूमिका थियो । छायांकनका क्रममा एकअर्कापछि नजिक भएका उनीहरू दुई वर्ष लामो अफेयरपछि सन् २०१३ मा विवाह बन्धनमा बाँधिएका थिए ।
एनासँग सम्बन्धविच्छेदको निर्णयपछि पवनले वक्तव्यमार्फत भनेका छन्, ‘जीवनको ठूलो हिस्सा सँगै बिताएपछि हामीले आपसी समझदारी र सम्मानका साथ अलग हुने निर्णय गरेका छौँ । हाम्रो वैवाहिक सम्बन्ध अन्त्य भए पनि हामी असल मित्रका रूपमा रहनेछौँ । साथै, आफ्ना प्यारा सन्तानका लागि समर्पित अभिभावकको भूमिका निर्वाह गरिरहनेछौँ ।’

