मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संबिधान नबनेपछि चलचित्रकर्मी पनि आक्रोशित

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/05/23

आज भन्दा ३ वर्ष अगाडी सबैको मनमा एउटै सपना थियो । एउटा उत्साह थियो । जोश र जाँगर थियो । तर बिस्तारै त्यो सबै जनताको मनबाट मर्दैछ  । तोकीएकै समयमा संबिधान बनाउने, शान्ती प्रक्रियालाई तत्काल निष्कर्षमा पुर्‍याउने आदि आदि सपना देखाए अनि सपना पुरा नगरी चकनाचुर पारीदिए । यि सबैको कारण हुन् राजनितिक दलहरु । अझ कुनै नेताले त नेपाललाई स्विजरल्याण्ड बनाइदिने सपना समेत देखाए । स्विजरल्याण्डको के कुरा यिनिहरुले त नेपाललाई नेपाल समेत बनाउन सकेनन् । शुरूमा त जनताले पनि नयाँ नेपालको नारा मज्जैले लाए तर अहिले उनिहरूले देख्दैछन् बास्तविक नयाँ नेपालको स्वरूप । तपाईं हामी अहिले जे भोग्दै छौं यहि नै हो त नयाँ नेपाल ? उखानै छ नि 'हात्ति आयो हात्ति आयो फुस्सा' !


२ वर्षमा संबिधान बनाउने योजना थिए संबिधान सभाका । तर ३ वर्ष बितिसक्दा सम्म पनि संबिधान नबन्ने पक्का छ । सरकारले म्याद थपौं भन्छ बिपक्षी टेरपुच्छर लगाउँदैनन् । देशको स्थिति तहस नहस छ । काम गरेर खान पाउने अवस्था छैन । हरेक दिन जसो बन्द र हडतालको मारमा जनता परेका छन् । हुनेले त खाने नहुनेले के खाने ? स्थिती निकै अन्यौलमा छ । यस्तै अन्यौलताका बिच बाँचिरहेका छन् चलचित्रकर्मीहरु । यो स्थितिबाट सबै क्षेत्र प्रभाबित छ । त्यसैले कलाकार पनि अछुतो रहने कुरै भएन । हामीसँग कुरा गर्दै धेरै चलचित्रकर्मीले यो बिषयमा निकै आक्रोश पोखेका छन् ।

 

नायिका करिश्मा मानन्धरले संबिधान नबन्ने पक्का भै सकेको यो बेलामा आफु ज्यादै अन्योलमा परेको बताईन् । म्याद सकिनै लाग्यो थप्ने नथप्ने टुङ्गो छैन अब के हुन्छ भन्ने अनुमान गर्न गार्‍हो भएको उनको भनाइ छ । अहिले नेताहरु संबिधान बनाउन भन्दा पनि सरकार बनाउन र गिराउनमै अल्झिएको बताउदै करिश्माले सरकारले संबिधान सभाको म्याद थप्ने प्रस्ताब गरेको र बिपक्षीले सरकारले राजीनामा गरे पछि मात्र म्याद थप्ने भनेर अड्डि लिएको खबर आफूले सुनेको बताईन् । उनले प्रश्न गरिन्, 'यस्तो स्थितिमा यि दल र नेताबाट हामीले के आशा गर्ने ? जनताले चाहेमा जे पनि हुन सक्ने बिश्वास उनमा छ । जनताको बलमा ठुला ठुला परिवर्तन भएको कुरा इतिहास साक्षि छ भन्दै उनले भनिन्, ' फेरी एकपटक जनदबाब सृजना गर्नु पर्ने अवस्था आएको छ ।'


नायक जीवन लुईटेलले नेताहरूले जनताहरूलाई क्यारम बोर्डको गोटी जस्तै बनाएको बताए । समयमा संबिधान नबन्दा हरेक क्षेत्रमा जस्तै चलचित्र क्षेत्रमा पनि नराम्रो असर परेको यि नायकको भनाई छ । उनी भन्छन्, 'देश र जनता अन्यौलमा रहेकोले चलचित्रकर्मी पनि चलचित्र बनाउने या नबनाउने र बनेको चलचित्र पनि रिलिज गर्ने कि नगर्ने भन्ने अन्यौलमा परेका छन् ।' यता नायक सुमन सिंहले त यि नेतहरु नै काम नलाग्ने भएको बताए । उनले भने, हेर्नुहोस् देश बनाउन अनि संबिधान बनाउन गएका यि नेताहरुले केही बनाउने वला छैनन् ।' नेताले देश बिगार्न सम्म बिगारेको भन्दै सुमनले आक्रोश पोख्दै भने, 'अब बिगार्न जति बाँकि छ त्यो पनि बिगारे हुन्छ ।' 'नेपाललाई स्विजरल्याण्ड बनाउने भने तर नेपाल त बनाउन नसक्नेले के को स्विजरल्याण्ड ?'  उनले आक्रोस पोखे । घरको झगडा छिमेकीले थाहा पाइसकेको बताउदै उनले देशको स्थितिले बिदेशीका अघि लाज लाग्ने गरेको बताए ।


युवानिर्देशक सुरेशदर्पण पोखरेलले संबिधान बनाउन म्याद थप्नुको बिकल्प नरहेको भन्दै समयमा संबिधान बन्न नसक्नु दु:खको कुरा रहेको बताए । निर्देशक पोखरेलले देश र जनताको भावना बुझेर जति सक्दो चाँडो संबिधान बनाउन नेताहरूलाई आग्रह गरे । संबिधान नबन्नु, बन्द हडतालको शिकार बन्नु जस्ता समस्याले गर्दा जनतामा फ्रस्टेशन आएको भन्दै शुरेश भन्छन्, 'नेताहरूले जनताको असन्तुष्टीलाई बुझ्न नसके देश कुनै पनि बेला गृहयुद्वमा फस्न सक्छ ।' राष्ट्रलाई असफलताको खाल्डोमा हाल्ने नेताहरुले आफ्नो कमजोरीलाई मनन गरी देश बचाउन लाग्नु पर्ने उनको भनाई छ ।

 

एक पटक हैन पटक पटक जनतालाई धोका भएको ठहर गरेकी नायिका निशा अधिकारीले भने सचेत नागरीकको हैसियतले हेर्दा नेताहरुले जनमतको हेलचक्राई गरेको बताईन् । सत्ता र कुर्सीको खेलमा लागेको भन्दै आफ्नो स्वार्थलाई पर राखि राष्ट्रिय स्वार्थलाई बोक्न सक्ने नेताहरु नभएको निशाको ठहर छ । निशाले देश र जनतालाई मार्गनिर्देश गर्ने सभाषदहरु नै बिभिन्न केशमा मुछिनुले देशमा अराजकता उब्जिएको जनाइन् । उनले एकपटक सबैलाई गम्भिर भएर सोच्न बाध्य बनाएको भन्दै अब देशलाई अगाडी बढाउन नयाँ सोचका नेताहरुको आवश्यकता भएको बताइन् ।

 

यता कलाकार तथा द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीलाई संबिधान जीवनभर बन्न नसक्ने जस्तो लागेको छ । संबिधान नबन्नु देशको बिडम्बना भएको बताउदै उनले जनताले ठुलो दु:ख पाएको गुनासो गरे । उनले भने, 'नेताहरु पैसा कमाउन लागे देश बनाउन लागेनन् । त्यसैले सभाषदहरुलाई हतकडी लगाईंदैछ ।'  नेताहरुलाई बिदेशले किनेको बताउदै पनि छिट्टै किन्न सक्ने उनले बताए । कालापानी सुस्ता बेच्दै देश बेच्न सुरु गरेका नेताहरुले अब देश बेच्ने राजेन्द्रको भनाइ छ । 'नेताहरुले केही भयो की भारत नै गुहार्छन् । उनीहरूले हाम्रो देशमा आउ देश बनाउ भन्छन् अनि बल्ल थाहा पाउँछन् नेताहरूले अर्काको गुलामी गर्दा', खड्गीले आक्रोश पोखे ।

 


नायिका अरुणिमा लम्साललाई भने जेष्ठ १४ पछि देशमा हुलदङ्गा होला जस्तो लागेको छ । नेताहरुलाई तलब भत्ता सहित अन्य सुबिधा त लिनै पर्ने हुँदा संबिधान बनाउने म्याद जसरी पनि थप्ने अरूणिमाले बताईन् । जसले गर्दा जेष्ठ १४ पछि बन्द हड्ताल झन् बढ्ने यि नायिकाले अनुमान गरीन् । उनले देश र जनताको भविष्य एकदम अन्योल देखेको बताउदै सबै पक्ष मिलेर छिटो संबिधान बनाउनु पर्ने बताईन् । भर्खर भर्खर चलचित्रमा प्रबेश गरेकी नायिका निता ढुंगानाले देश र जनताको सपना चकनाचुर भएको बताईन् । उनले भनिन्, 'बिग्रेको देशका जनताको हालत के होला ? अरुको जस्तै संबिधान चाँडै बनोस् भन्ने आफ्नो पनि इच्छा रहेको उनको भनाइ छ । राजनिती घिनलाग्दो खेल रहेछ भन्ने कुरा सत्ताको लडाईंले बताइरहेको उनको भनाइ छ ।

 

कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले समयमा संबिधान नबन्नु देश र जनताका लागि लज्जास्पद कुरा भएको बताए । देश प्रगति पथमा लम्कियोस्, स्थाई शान्ति आओस् र देशको बिकास होस् भन्ने चाहना हरेक क्षेत्रका व्यक्तिहरूको जस्तै कलाकारहरूको पनि रहेको बुढथोकीको भनाई छ । उनले यि सबै काम थाति रहनु र देश बिकास हुन नसक्नुले देशबासी धेरै पछि परेको बताए । संबिधान अपरिहार्य भएको भन्दै उनले नेताहरु निहीत स्वार्थ भन्दा माथी उठ्न नसक्नु नै उनिहरुको कमजोरी भएको बताए । हरेक राम्रो कामले राम्रो परिणाम दिने भन्दै उनले सबै नेतालाई राम्रो काममा लाग्न आग्रह गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले नेताहरुले देश र जनताका लागी नभई आफ्ना लागी गरेको बताएका छन् । उनले नेताहरु कुर्सिको खेलमा लागेको बताउदै ब्यक्ति बिशेषका कारण संबिधान नबनेको बताए । संबिधान नबन्दा सबै पक्षलाई असर परेको बताउदै उनले संबिधान सभाको म्याद थप्नु परे के आधारमा थप्ने हो स्पष्ट पार्नु पर्ने बताएका छन् । आधार स्पष्ट नभए म्याद थपेर बसीरहन नहुने भन्दै ताजा जनादेशमा जानु पर्ने राईले माग गरेका छन् ।

 


यता निर्देशक समाजका अध्यक्ष केपी पाठकले भने संबिधान बन्नुको बिकल्प नभएको भन्दै सबिधान बनाउन म्याद थप्नुको पनि बिकल्प नभएको बताए । ताजा जनादेशको कुरा उठे पनि यो समय र पैसाका दृष्टिकोणले महङ्गो हुने भन्दै देशलाई आर्थिक बोझबाट छुट्कारा दिन पनि म्याद नै थप्नु पर्ने पाठकको भनाई छ । उनले सरकारले ल्याएको कार्ययोजनामा छलफल गरेर सहमति जुटाउन सबैलाई आग्रह गरे । माओबादी निकट मानिने चलचित्रकर्मी युबराज लामाले भने सरकारमाथि चौतर्फि निरन्तर प्रहार भै रहेकाले काम गर्दा केही ढिला भएको हुन सक्ने भन्दै सरकारको बचाबट गरे । संबिधान निर्माणको प्रक्रिया जारी रहेको बताउँदै लामाले भने,'राज्य पुनरसंरचना सहितको संबिधान बनाउन समय लाग्नु स्बभाबिक हो ।' तर पनि यस अघि नेतृत्व गर्ने ब्यक्तिहरुले २ वर्षमा संबिधान बनाउँछौ भनेर गल्ती गरेको लामाले बताए । पार्टीहरु बिचको अर्न्तसंघर्षका कारण केही ढिला भएको बताउँदै उनले देशलाई अनिर्णयको बन्दी बनाउने क्षमता कुनै दलसँग नरहेको बताए ।



यि चलचित्रकर्मीहरुले भने जस्तै देशको मुल कानुन नै नहुँदा देश अन्योलमा परेको पक्का हो । अनि राजनितिक दल र नेताहरु संबिधान निर्माण भन्दा कुर्सिकै खेलमा लागेको उनिहरुकै ब्यवहारले बताइरहेको छ । दलहरुको यि र यस्ता क्रियाकलापलाई जनताले चुपचाप सही रहेका छन् । जनतामा  नेताहरू प्रतिको बिश्वास गुम्दैछ । यो अवस्थामा जनतालाई बिश्वासमा लिनु नेताहरुको अगाढी ठूलै चुनौति बनेको छ । धन्न जनता अहिले आफैले चुनेर पठाएका नेताहरू भएकोले सहेर बस्न सकेका छन् । नत्र जनता सधै यसैगरी चुपचाप बस्लान् जस्तो लाग्दैन । हैन र ?