
काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान दुई वर्षपछि फिल्म ‘किङ’मार्फत पर्दामा देखिँदैछ । आगामी २४ डिसेम्बर (९ पुष)मा रिलिज हुने फिल्ममा उनी एक्सन भूमिकामा प्रस्तुत भएका छन् । उनीसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन र सुहाना खानको पनि अभिनय रहेको फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।
शाहरुखको प्रोडक्सन कम्पनी रेड चिलिज इन्टरटेनमेन्टले निर्माण गरेको ‘किङ’लाई बलिउडको दोस्रो सबैभन्दा महंगो फिल्म मानिएको छ । यसको निर्माण लागत करिब ४ सय करोड भारु रहेको भारतीय मिडिया पिंकभिल्लाले जनाएको छ । सुरुमा फिल्मको बजेट २ सय करोड तय गरिएको थियो । तर, निर्माण अघि बढ्दै जाँदा लागत पनि निरन्तर बढ्दै गएको हो ।
पिंकभिल्लाका अनुसार फिल्मको ४ सय करोड बजेटमा शाहरुखको पारिश्रमिक समावेश छैन । तर, निर्देशक सिद्धार्थ आनन्दको पारिश्रमिक भने यसमा जोडिएको छ । शाहरुखको पारिश्रमिक समेत जोड्दा फिल्मको लागत ५ सय करोड रुपैयाँभन्दा माथि पुग्नेछ । यसबाहेक फिल्मको प्रिन्ट र विज्ञापन (प्रचार)मा थप ४०−५० करोड लाग्ने अनुमान गरिएको छ ।
फिल्मको निर्माण लागत उच्च भए पनि यसले प्रदर्शनअघि नै ठूलो आम्दानी सुनिश्चित गरिसकेको छ । फिल्मको विदेश प्रदर्शन अधिकार मात्र १७५ करोड भारु (एमजी)मा बिक्री भएको छ । भारतभित्रको प्रदर्शन अधिकार भने पेन मरुधरले २५० करोड रुपैयाँमा खरिद गरेको छ । यसरी हल प्रदर्शन अधिकारबाट मात्रै फिल्मको ४२५ करोड रुपैयाँ आम्दानी सुनिश्चित भएको छ ।
फिल्मको ओटीटी, म्युजिक र स्याटेलाइट राइट्सको मूल्य पनि निकै आकर्षक छ । नेटफ्लिक्सले फिल्मको डिजिटल प्रदर्शन अधिकार १५० करोड रुपैयाँमा खरिद गरेको पिंकभिल्लाले जनाएको छ । नेटफ्लिक्ससँगको सम्झौता फिल्मको बक्स अफिस प्रदर्शनसँग जोडिएकाले यसको मूल्य अझै बढ्न सक्ने आँकलन गरिएको छ ।
त्यस्तै, फिल्मको म्युजिक राइटसबाट भारु ६५ करोड र स्याटेलाइट राइट्स (टेलिभिजन प्रदर्शन अधिकार)बाट २५ करोड रुपैयाँ आम्दानी भएको छ । यी सबै राइट्सको रकम जोड्दा फिल्मले प्रदर्शनअघि नै कुल ६६५ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ । फिल्मले हल प्रदर्शनमा आक्रामक व्यापार गरे यो रकम अझै बढ्ने अपेक्षा गरिएको छ ।

