Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जलाकी’को ट्रेलरले दर्शकलाई सम्झायो कलेज जीवन

फिल्मीखबर, काठमाडौं, 2026/11/05

Upasana Singh Thakuri And Sonam Topden

 

काठमाडौं । ‘खुस्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ मंसिर ४ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘चाँदी जलप’ गीतका कारण चर्चामा रहेको फिल्मको गत साता सार्वजनिक ट्रेलरले पनि हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ । रिलिजको ६ दिनमा झन्डै साढे तीन लाखले हेरिसकेको ट्रेलरलाई उत्साहजनक प्रतिक्रिया मिलेको छ ।

ट्रेलर हेरेर धेरैले आफ्नो कलेज जीवन सम्झिएका छन् । ट्रेलरमा कलेजको प्रेमकथालाई प्राथमिकताका साथ समेटिएकाले पनि दर्शकहरू ‘नोस्टाल्जिक’ बनेका हुन् । फिल्मका मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम तोप्देनको केमेस्ट्रीलाई पनि निकै रुचाइएको छ । यद्यपि, केही दर्शकलाई उपासनाको जोडीको रूपमा धीरज मगरको अभाव खड्किएको छ ।

ट्रेलरले युट्युब ट्रेन्डिङमा समेत आफ्नो उपस्थिति जनाएको छ । यो समाचार तयार पार्दासम्म फिल्मको ट्रेलर मुभिज ट्रेन्डिङ चार्टको चौथो स्थानमा छ । यसले ट्रेलरप्रति दर्शकको आकर्षणलाई दर्साउँछ । ट्रेलरले दर्शकमा जगाएको चासो र गीतसंगीतले पाइरहेको चर्चा हेर्दा फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने संकेत देखाएको छ ।

निर्देशक मगर स्वयंको लेखन तथा सम्पादन रहेको फिल्ममा उपासना र सोनमसहित विजय लामा, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय छ । फिल्मले मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।