.jpg)
काठमाडौं । महाभारतका पात्रलाई बिम्ब बनाएर निर्माण भएको फिल्म ‘पाँच पाण्डव’ यही शुक्रबार (२० कात्तिक)बाट प्रदर्शनमा आउँदैछ । तर, रिलिजको संघारमा फिल्म विवादमा तानिएको छ । फिल्मको पोस्टरमा द्रौपदीको रूपमा चिनाइएकी इभा गिरीलाई ‘राजा चाहिया छ’ गीतमा बोल्ड अवतारमा प्रस्तुत गरिएपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
फिल्मको प्रदर्शन रोक्न चलचित्र विकास बोर्डमा उजुरी समेत परिसकेको अवस्थामा केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले भने बिना कुनै रोकटोक प्रदर्शन अनुमति दिएको छ । फिल्मले सेन्सर बोर्डबाट सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ । योसँगै फिल्म प्रदर्शनका लागि बाटो खुला भएको छ ।
फिल्मले सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाएपछि निर्देशक वसन्त निरौलाले खुसी व्यक्त गर्दै यसले फिल्मको सन्देश स्पष्ट पारेको बताए । उनले फेसबुकमा लेखेका छन्, ‘पाँच पाण्डव’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । यसले हाम्रो नियत र फिल्मको सन्देश दुवै स्पष्ट पार्छ, हामीले कसैलाई ठेस पुर्याउने काम गरेका छैनौं । अब सिनेमाघरमा भेटौं ।’
द्वापरयुग र कलियुगको कथामा आधारित फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय छ । फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा छन् ।

