Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप र पललाई लिएर फिल्म बनाउँदैछिन् कृषा ?

फिल्मीखबर, काठमाडौं, 2026/11/03

Krisha Chaulagain

 

काठमाडौं । नेपाली फिल्ममा स्टार कलाकारबीच विरलै सहकार्य हुन्छ । एकअर्काको छायामा परिने भयले पनि उनीहरू सहकार्यमा रुचि देखाउँदैनन् । तर, नयाँ छिमलका दुई स्टार प्रदीप खड्का र पल शाहको हकमा भने यस्तो छैन । ‘पूजार सार्की’बाट सहकार्यको ढोका खुला गरेका उनीहरू अब फेरि नयाँ फिल्ममा देखिन लागेको चर्चा छ । 

‘पिताम्बर’की निर्देशक कृषा चौलागाईंले प्रदीप र पललाई लिएर फिल्म बनाउन लागेको निकट स्रोतको दाबी छ । दुवैसँग उनको केही चरण छलफल भइसकेको छ । प्रदीपले फिल्ममा काम गर्ने मौखिक सहमति समेत जनाइसकेको जानकारी प्राप्त छ । पल पनि फिल्मलाई लिएर सकारात्मक रहेको बताइन्छ । उनीहरू दुवैसँग यसै साता लिखित सम्झौता गर्ने तयारीमा कृषा छिन् ।

स्रोतका अनुसार ‘खलनायक’ शैलीको त्रिकोणात्मक प्रेमकथामा फिल्म आधारित हुनेछ । अर्थात् दुई हिरो र एक हिरोइन । यसै वर्ष छायांकनको तयारी गरिएको फिल्मलाई विशाल चौलागाईंले निर्माण गर्नेछन् । उनले यसअघि ‘पिताम्बर’ बनाएका थिए । कृषा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

कृषाले ‘पिताम्बर’पछि ‘जहाजैमा’ र ‘पारस’ फिल्मको निर्माण घोषणा गरेकी थिइन् । दुवै फिल्ममा नाम चलेका कलाकारहरूको पल्टन नै थियो । तर, पछि निर्माताबीच असमझदारी उत्पन्न हुँदा दुवै फिल्म निर्माण हुन सकेनन् । अब उनी आफ्नै लगानीमा प्रदीप र पललाई लिएर लभस्टोरी फिल्म बनाउने तयारीमा जुटेकी छन् ।

२०८१ सालमा प्रदर्शन भएको दिनेश राउत निर्देशित ‘पूजार सार्की’मा प्रदीप र पलको केमेस्ट्री दर्शकले निकै रुचाएका थिए । यद्यपि, फिल्ममा उनीहरूबीचका दृश्य धेरै थिएनन् । यसैले दुवैलाई फेरि एउटै फिल्ममा हेर्ने दर्शकको ठूलो चाहना थियो । यदि कृषाले प्रदीप र पललाई फिल्ममा आबद्ध गराउन सकेको खण्डमा त्यसले दर्शकमा उत्साह थप्ने निश्चित छ ।