
काठमाडौं । मार्टिन भण्डारी र डार्विन श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘द प्रोफेसनल गाइज’का मुख्य पाँच कलाकार सार्वजनिक गरिएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्ममा अमन श्रेष्ठ, बासना तिमिल्सिना, शिशिर सिवाकोटी, जीवन बस्नेत र प्रवेश महतारा क्षेत्रीको मुख्य भूमिका रहने जानकारी गराएको हो ।
जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्ममा गोविन्द सुनार, भारत बारबरिक, सुरज पराजुली, रश्मी उप्रेती, सुशान्त डंगोल, विजय रोय, अबिन ठटाल, आशिष सौदागर, मुन्ना शाहलगायतको पनि अभिनय रहनेछ । बाल कलाकारमा रागन मानन्धर, एन्जेल मानन्धर, सृजन श्रेष्ठ, सिमरन श्रेष्ठ र अभिलाषा मानन्धर रहेका छन् ।
अमन श्रेष्ठ र डार्विन श्रेष्ठ निर्माता रहेको फिल्ममा मार्टिन भण्डारी सह–निर्मातामा छन् । फिल्मको लेखन मार्टिन र डार्विनले गरेका हुन् भने सह–लेखक तथा क्रिएटिभ डाइरेक्टरमा अमन श्रेष्ठ छन् । फिल्ममा डार्विन श्रेष्ठ छायांकन निर्देशक तथा डार्विन श्रेष्ठ, सुबन गुरुङ, विजय रोय र अमृत चौहान छायाँकारमा छन् ।
फिल्मको सम्पादन तथा रंग संयोजन अनन्त घिमिरेले गर्नेछन् । कोरियोग्राफी राहुल शाहको रहनेछ भने पार्श्व संगीत ब्रिजेश श्रेष्ठ र बियोन्डले तयार पार्नेछन् । फिल्मका गीतमा अस्मिता अधिकारी, विराज गौतम र बियोन्डको स्वर सुन्न पाइनेछ । शीर्ष गीतमा बियोन्ड र केरु अन फ्लिकको र्याप समेत रहनेछ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

