Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पाँच पाण्डव’मा महाभारतकी द्रौपदीको चरित्र छैन : हरिवंश आचार्य

फिल्मीखबर, काठमाडौं, 2026/11/03

Hari Bansha Acharya

 

काठमाडौं । तिहारको अवसर पारेर यही शुक्रबार (२० कात्तिक)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ यतिबेला विवादमा फसेको छ । फिल्मकी द्रौपदी पात्र इभा गिरीलाई गीतको भिडियोमा बार डान्सरको रूपमा प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । कतिपयले फिल्म प्रतिबन्धको माग समेत गरेका छन् ।

फिल्मलाई लिएर उत्पन्न विवादले सबैभन्दा ठूलो असर कलाकार हरिवंश आचार्यलाई गरेको छ । फिल्ममा युधिष्ठिरको भूमिकामा रहेका उनलाई केही दिनयता सामाजिक सञ्जालमा गालीको वर्षा भइरहेको छ । उनीजस्तो सम्मानित कलाकारबाट यस्तो फिल्मको अपेक्षा नरहेको भन्दै सार्वजनिक रूपमा माफी माग्ने र फिल्मको रिलिज रोक्न धेरैले आग्रह गरेका छन् । 

फिल्मलाई लिएर विवाद चर्किँदै गएपछि मंगलबार हरिवंशले फेसबुकमार्फत प्रष्टीकरण दिएका छन् । उनले पूर्ण कथावस्तु र प्रस्तुति नहेरी केही गीत, दृश्य र प्रचार सामग्रीका आधारमा फिल्मबारे धारणा बनाउनु न्यायोचित नहुने उल्लेख गरेका छन् । फिल्ममा महाभारतबाट एउटा सानो बिम्ब मात्र ग्रहण गरिएको उनको भनाइ छ ।  

‘पाँच पाण्डव’ महाभारतको कथामा नभई समकालीन नेपाली समाजको कथावस्तुमा आधारित फिल्म रहेको प्रस्ट पार्दै उनले भनेका छन्, ‘यसमा महाभारतका केही पात्रहरूको नामलाई कथाको सन्दर्भमा मात्र प्रयोग गरिएको छ । साथै, फिल्ममा महाभारतकी द्रौपदीको चरित्र वा भूमिका समावेश गरिएको छैन ।’ 

मंगलबार ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फिल्ममा द्वापरयुग र कलियुगको फ्युजन रहेको बताए । ‘यो विशुद्ध मनोरञ्जनात्मक फिल्म हो । नयाँ किसिमको कथावस्तु होस् भन्ने उद्देश्यले द्वापरयुग र कलियुगको फ्युजन गरिएको छ । अहिले फिल्मबारे जसरी नकारात्मक कुरा फैलिएको छ, फिल्ममा त्यस्तो छैन । पहिला फिल्म हेरेर धारणा व्यक्त गरिदिन अनुरोध गर्दछु,’ उनले भने ।