Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपकराजलाई कुमार बेनको ढाडस : ‘मेरो फिल्म ५१ दिन चलेर पनि १.४ करोड व्यापार गर्‍यो’

फिल्मीखबर, काठमाडौं, 2026/11/04

deepakraj giri and kumar ben

 

काठमाडौं । बक्स अफिसका हिट मेसिन मानिने कलाकार दीपकराज गिरी यसपालि नराम्ररी चुके । उनको मुख्य भूमिका रहेको फिल्म ‘छ माया छपक्कै २’ दसैंजस्तो प्राइम डेटमा रिलिज हुँदा पनि व्यावसायिक रूपमा असफल भयो । फिल्मको व्यापार चार करोड पनि पुगेको छैन । यो दीपकराज समूहको अहिलेसम्मकै सबैभन्दा कम व्यापार गर्ने फिल्म हो । 

फिल्मले ठूलो असफलता बेहोरेपछि दीपकराजले मंगलबार फेसबुकमा लामो पोस्ट लेख्दै त्यसको जिम्मेवारी आफूले लिने बताए । उनले व्यक्तिगत रूपमा भएका कमजोरी समेत आफूले स्वीकार गरेको बताएका छन् । उनको उक्त पोस्टमा सयौंले प्रतिक्रिया जनाएका छन्, जसमा अधिकांशले उनलाई ढाडस दिँदै निराश नहुन आग्रह गरेका छन् ।

उनलाई ढाडस दिन प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार तथा फिल्म निर्माता कुमार बेन पनि पुगेका छन् । उनले कमेन्टमा भनेका छन्, ‘बक्स अफिसको धेरै रेकर्ड तपाईंको नाममै छ । आठ फिल्ममध्ये एउटा हल्का नचलेको हो, त्यही हो तपाईंले बनाउनु भएको स्ट्यान्डर्ड । तपाईंको नचलेको फिल्म पनि चलेको धेरै फिल्म जति व्यापार गरेको छ ।’

उनले दीपकराजलाई ढाडस दिने क्रममा आफ्नो फ्लप फिल्मको कमाइ समेत सम्झिएका छन् । ‘मेरो नै भन्ने हो भने पनि ५१ दिन चलेर पनि १.४ करोड जति व्यापार गरेको थियो । तपाईंको चल्दै नचलेको फिल्म पनि ४ करोड । यदि मेरो फिल्मले यति व्यापार गर्ने हो भने मेरो लागि त विश्व जितेको जस्तो हुन्थ्यो होला,’ उनले लेखेका छन् ।

‘झरीपछिको इन्द्रेणी’बाट फिल्म निर्माणमा होमिएका कुमारले दीपकराजसँग सहकार्य गर्ने इच्छा पनि व्यक्त गरेका छन् । आफूलाई नचलेको मेकरको संज्ञा दिँदै उनले लेखेका छन्, ‘दाइ, अरू कुरा होइन । हामीले ११–१२ वर्ष पहिलेदेखि सधैं मिलेर फिल्म बनाऊँ भन्ने कुरा हुन्थ्यो । हुन त म नचलेको मेकर, हामी मिलेर फिल्म चाहिँ कहिले बनाउने हो, त्यति भन्नू न ।’

 

kumar ben