
काठमाडौं । नेपालमा आधुनिक मल्टीप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो हलको रूपमा परिचित बिग मुभिजले दर्शकलाई उच्चस्तरीय दृश्य र ध्वनीको अनुभव दिन अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ । मंगलबार बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकार सम्मेलन आयोजना गर्दै हलमा जडित नयाँ प्रविधिबारे जानकारी गराए ।
उनका अनुसार हलमा स्टेट अफ द आर्ट दृश्य प्रविधि बारको फोरके आरजीबी लेजर प्रोजेक्टर जडान गरिएको छ । यो प्रोजेक्टरमा २१,००० ल्युमेन्सको ब्राइटनेस र ओरके (४०९६x२१६०)को नेटिभ रिजोलेसन रहेको उनले बताए । फिल्मका दृश्यहरूलाई अत्यन्त स्पष्ट र चम्किलो बनाउन ठूलो रकम खर्चेर यो प्रोजेक्टर जडान गरिएको उनको भनाइ छ ।
उनले भने, ‘फिल्मका दृश्यमा उच्च गुणस्तरको रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी रेस २०२० र डीसीआई–पी३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि हलमा जडान गरेका छौँ । दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनिको अनुभूति गराउन थ्रीडी इमर्सिभ साउन्ड सिस्टम (डल्बी एटमस ६४–च्यानल सिस्टम) पनि राखेका छौँ । हलका सिटहरूलाई समेत आरामदायी बनाएका छौँ ।’
हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङ जडान गरेर दर्शकका लागि फरक वातावरण तयार पारिएको अध्यक्ष अर्यालले बताए । ‘अब बिग मुभिजमा फिल्म हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन । कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास लिएका छौं,’ उनले भने ।
सन् २०१० मा स्थापना भएको बिग मुभिजमा तीनवटा अडिटोरियम (हल) छन्, जहाँ एकैपटक करिब एक हजार दर्शकले फिल्म हेर्न सक्छन् । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको चौथो तलामा रहेको यो हलमा सधैंजसो दर्शकको उच्च चाप रहने गरेको छ । अब नयाँ प्रविधि जडान गरिएसँगै हलमा दर्शकको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ ।

