
काठमाडौं । केही दिनअघि फिल्मीखबरले निर्देशक कृषा चौलागाईंको नयाँ फिल्ममा प्रदीप खड्का र पल शाहबीच सहकार्य हुन लागेको खबर सार्वजनिक गरेको थियो । अन्ततः शुक्रबार सोही फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । काठमाडौंको कालोपुलस्थित एक होटलमा स्वस्तिवाचनसहित अग्नि पूजा गर्दै फिल्मबारे जानकारी गराइएको हो ।
‘उही तिम्रो’ शीर्षक तय गरिएको फिल्ममा प्रदीप र पलसहित सिम्रन पन्त, जुना विश्वकर्मा, लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमुलगायतका कलाकारको अभिनय रहनेछ । चर्चित मोडल जुनाले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन् । पलसँग उनले चर्चित गीत ‘म त ढलेँ ढलेँ’मा सहकार्य गरेकी थिइन् ।
आगामी मंसिर पहिलो साताबाट छायांकन सुरु गर्ने लक्ष्य राखिएको फिल्मको निर्माण विशाल चौलागाईंले गर्नेछन् । उनले यसअघि ‘पिताम्बर’ बनाएका थिए । उनी निर्देशक कृषाका सहोदर भाइ हुन् । फिल्ममा अभिमन्यु निरवीको कथा, पटकथा तथा संवाद छ भने पुरुषोत्तम प्रधानको छायांकन तथा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहनेछ ।
केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको प्रदर्शन मिति नयाँ वर्षलाई तय गरिएको छ । निर्देशक चौलगाईंका अनुसार यस वर्षको चैत अन्तिम शुक्रबार अर्थात् चैत २६ गते फिल्म रिलिज हुनेछ । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्मको छायांकन म्याग्दी र काभ्रेको बनेपामा गरिने जनाइएको छ ।
नयाँ पुस्ताका स्टार कलाकार मानिने प्रदीप र पलको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले व्यावसायिक रूपमा फिल्म ‘पूजार सार्की’ (२०८१)मा सँगै काम गरेका थिए । तर, यस फिल्ममा उनीहरूबीचका दृश्य धेरै थिएनन् । ‘उही तिम्रो’मा भने दुवैको भूमिका समानान्तर रहेको बुझिएको छ । फिल्ममा उनीहरूको जोडी कोसँग बाँधिने भन्नेबारे खुलाइएको छैन ।

