
काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘पाँच पाण्डव’ निर्धारित मितिमै प्रदर्शन हुने भएको छ । सामाजिक सञ्जालमा फिल्मको प्रदर्शन रोकिएको खबर फैलिरहेका बेला निर्माता कम्पनी कालीरानी फिल्म्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्म भोलि शुक्रबार (२० कात्तिक)देखि नै देशभर प्रदर्शन हुने जानकारी गराएको हो ।
फिल्मले कुनै पनि धर्मप्रति चोट पुर्याउने काम नगरेको विज्ञप्तिमा उल्लेख छ । ‘हामी सबै धर्मप्रति उच्च सम्मान राख्दछौं । यस फिल्मले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्याउने, अपमान गर्ने वा अवहेलना गर्ने उद्देश्य राखेको छैन । हामी सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
बुधबार गृह मन्त्रालयको आदेशमा सूचना मन्त्रालयले निर्मातालाई फोनमार्फत फिल्मको रिलिज रोकिएको चिठी लिन आउन आग्रह गरेको थियो । चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिइसकेको फिल्मलाई मन्त्रालयले रोक्न खोजेको भन्दै फिल्मकर्मीले विरोध गरेपछि बिहीबार बिहान सेन्सर बोर्डसहित गृह र सञ्चार मन्त्रालयका प्रतिनिधिले निर्मातासँग छलफल गरेका थिए ।
चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिइसकेपछि फिल्मलाई प्रदर्शन गर्ने अधिकार निर्मातामा हुने र समितिको विश्वसनीयता जोगाउनु राज्यको दायित्व हुने कुरामा दुवै मन्त्रालय सहमत भएपछि फिल्मलाई प्रदर्शन गर्न दिने निर्णय भएको जनाइएको छ । यसलगत्तै निर्माता कम्पनीले विज्ञप्तिमार्फत निर्धारित मितिमै फिल्म प्रदर्शन हुने जानकारी गराएको हो ।

फिल्मको पोस्टरमा द्रौपदीको रूपमा चिनाइएकी इभा गिरीलाई ‘राजा चाहिया छ’ गीतमा बोल्ड अवतारमा प्रस्तुत गरिएपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ । कतिपयले फिल्म बहिष्कारको माग समेत गरेका छन् । फिल्मको निर्माण पक्षले भने प्रचार सामग्रीका आधारमा फिल्मप्रति धारणा नबनाउन निरन्तर आग्रह गरिरहेको छ ।
फिल्मको बुधबारदेखि देशभरका हलमा अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । फिल्मले ७० हाराहारी शो पाएको छ । बुकिङ खुलेसँगै केही शोमा टिकट बिक्री उच्च देखिएको छ । यसले फिल्मको ओपनिङ सुखद हुने संकेत गर्छ । तर, फिल्मका लागि सबैभन्दा ठूलो चुनौती बिहीबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘रावायण’ बन्ने देखिन्छ ।

