‘बाटोः रोड टू डेथ’का निर्देशक मदन थापाको दोस्रो निर्देशकीय फिल्म ‘परिवार’ तिहारको छेको पारेर कात्तिक १३ गते (३० अक्टोबर)बाट प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माता कम्पनी रे अफ आर्टले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो । फिल्मले तय गरेको मितिमा अहिलेसम्म अरु फिल्म भने छैनन् ।
सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा र प्रियान्शु थापाको स्टुडियोमा खिचिएको तस्बिरलाई समेटिएको छ । कामेश्वर विवाहित महिलाको पहिरन र श्रृंगारमा देखिएका छन् भने लक्ष्मीको गेटअपले पुरुषको झल्को दिन्छ । कलाकारको यस्तो विपरीत गेटअपले फिल्मको कथावस्तु सामान्य पारिवारिक कथाभन्दा फरक रहेको संकेत गर्छ ।
रमेश शाही निर्माता रहेको फिल्ममा कामेश्वर, लक्ष्मी र प्रियान्शुसहित विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, सन्तोष विश्वकर्मा, बारिश सोना, गीताश्री थापा, रामहरी खड्का, चन्द्र वीर सिंह कंसाकारलगायतका कलाकारहरूको अभिनय छ । फिल्मको कार्यकारी निर्मातामा कैलाश रावल र सह–निर्मातामा आरम्भ रिजाल छन् ।
फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, भीम विश्वकर्माको सम्पादन, एनबी महर्जनको द्वन्द्व निर्देशन, कुनाल कुँवरको रंग संयोजन तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ । ‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने थिममा फिल्म निर्माण भएको जनाइएको छ ।

