
तीजको छेको पारेर भदौ २६ गते प्रदर्शनमा आएका दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’को कमाइमा ठूलो अन्तर देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार ‘बेहुली’भन्दा ‘पेन्सन पट्टा’को कमाइ १ करोड ११ लाख ४७ हजार ५४५ रुपैयाँले बढी छ । जबकि, यो फिल्मको ओपनिङ ‘बेहुली’भन्दा कमजोर थियो ।
‘पेन्सन पट्टा’ले असोज ४ गते (आइतबार)सम्म ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा फिल्मका १ लाख २९ हजार ११८ वटा टिकट बिक्री भएका छन् । योसँगै यस वर्ष ‘गौँथली’ र ‘लालीबजार’पछि पहिलो १० दिनमा साढे तीन करोडमाथिको व्यापार गर्ने ‘पेन्सन पट्टा’ तेस्रो नेपाली फिल्म बनेको छ ।
‘बेहुली’ले भने आइतबार (हिजो)सम्म ९४ हजार ८८५ वटा टिकट बिक्रीबापत २ करोड ६८ लाख २८ हजार ५२९ रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मको यो कमाइलाई सुखद नै मान्न सकिन्छ । प्रदर्शनको तीन दिनमै फिल्मले १ करोडमाथिको व्यापार गरेको थियो । मिश्रित प्रतिक्रियाका बाबजुद फिल्मले पहिलो १० दिनमा साढे दुई करोडको आँकडा पार गर्नु ठूलो उपलब्धि हो ।
यस्तै, ४ असोजसम्म ‘गौँथली’ले २५ करोड ९४ लाख ७३ हजार ४० रुपैयाँ, ‘पार्वती’ले २ करोड २४ लाख ३१ हजार ८८३ रुपैयाँ र कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले १ करोड १६ लाख ५४ हजार ९७० रुपैयाँ ग्रस कमाएका छन् । यसमध्ये ‘गौँथली’ यस वर्षको सबैभन्दा ठूलो ग्रसर र इतिहासकै दोस्रो धेरै कमाउने फिल्म बनिसकेको छ ।

