.jpg)
नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ दशैंको छेको पारेर असोज २३ गते (९ अक्टोबर)बाट प्रदर्शनमा आउने भएको छ । शनिबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराइएको हो । उक्त मितिमा नेपाल र भुटानका हलमा फिल्म एकसाथ रिलिज हुने जनाइएको छ ।
फिल्मको सार्वजनिक पोस्टरमा टनेलभित्रको दृश्य देखाइएको छ, जहाँ दुई व्यक्ति हिँडिरहेका देखिन्छन् । यसले फिल्मको कथा टनेलभित्र हुने घटनाक्रममा आधारित रहेको संकेत गर्छ । फिल्मको यसअघि नेपाली र भुटानी भाषामा टिजर सार्वजनिक भइसकेको छ, जसमा नेपाली कलाकारहरू अनुप विक्रम शाही र आना शर्मा देखिएका छन् ।
डीडी किन्लेले लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा अनुप र आनासहित सांगे सेल्ट्रिम, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा, केजाङ काजलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा प्रदीप खड्काले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । उनी फिल्मका क्रिएटिभ प्रोड्युसर समेत हुन् ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण गरेको फिल्ममा नेपालका दीर्घ गुरुङ र भुटानका सांगे टी तेन्जिङको डीओपी, डीडी किन्लेको सम्पादन, तेर्डसाक जानपानको ब्याकग्राउन्ड म्युजिक तथा राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको छायांकन भुटानमा भएको हो भने पोस्ट प्रोडक्सनको काम थाइल्याण्डमा भइरहेको छ ।

