पछिल्लो समय नेपालमा पारिवारिक फिल्मको बाढी नै आएको छ । ‘पूर्णबहादुरको सारङ्गी’, ‘आ बाट आमा’, ‘परान’ र ‘गौँथली’ जस्ता फिल्म सफल भएपछि यही शैलीका फिल्महरू बढी निर्माण भइरहेका छन् । यस्तोमा अभिनेता निखिल उप्रेती भने एक्सन फिल्म लिएर आएका छन् । उनको अभिनय तथा निर्देशन रहेको फिल्म ‘आचार्य’ असोज ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्म प्रदर्शनका लागि अब ४ दिन बाँकी रहँदा शनिबार ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लामो ट्रेलरमा निखिललाई एक्सन अवतारमा देख्न सकिन्छ । अपहरणमा परेकी युवतीलाई मुक्त गराउने क्रममा आचार्य पात्रले सामना गर्ने चुनौतीलाई ट्रेलरमा देखाइएको छ । फरक शैलीको एक्सन र सशक्त ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई ‘पावर प्याक्ड’ बनाएको छ ।
ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर दर्शकमा उत्साह देखिएको छ । युट्युबमा रिलिज भएको करिब २४ घन्टामै ट्रेलरलाई साढे ६ लाखभन्दा बढीले हेरिसकेका छन् भने दर्शकहरूको प्रतिक्रिया पनि उत्साहजनक छ । प्रायःले नेपाली एक्सन फिल्ममा अहिलेसम्मकै उत्कृष्ट ट्रेलर भनेका छन् । ट्रेलरकै आधारमा फिल्म ब्लकबस्टर हुने दाबी समेत गरिएको छ ।
निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा निखिलसहित सजिना श्रेष्ठ, प्रमोद अग्रहरी, ध्रुव कोइराला, सञ्जय गुप्ता, ध्रुव कोइराला, सरिता ज्ञवाली, सुरेश कोहली, भारतीय कलाकारहरू दीपराज राणा, रघु बाबु, रघू कारुमन्चीलगायतका कलाकारहरूको अभिनय रहेको छ । यही फिल्मबाट पूर्णिका सिंजापतिले अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् ।
निखिल स्वयंको लेखन रहेको फिल्ममा कृष्ण भट्टराई निर्माता तथा मिथिलेश तिवारी कार्यकारी निर्मातामा छन् । फिल्ममा मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, युग भुसालको संगीत, कालाचरणको पार्श्व संगीत तथा गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन रहेको छ ।

