Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छ माया छपक्कै २’ फूलपातीमा आउने, पोस्टरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/09/19

cha maya chapakai

 

दीपकराज गिरी र दीपाश्री निरौला समूहको नयाँ फिल्म ‘छ माया छपक्कै २’ दसैंको फूलपातीमा प्रदर्शन हुने भएको छ । शनिबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै असोज ३१ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । विगत केही वर्षदेखि दीपक-दीपाका फिल्म दशैंमै रिलिज हुँदै आएका छन्, त्यसले यस वर्ष पनि निरन्तरता पाएको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई देखिएका छन् । केकी र सनिशा गर्भवती अवस्थामा चित्रित छन् भने उनीहरूको बीचमा उभिएका दीपक भगवान् कृष्णले झैँ बाँसुरी बजाइरहेका देखिन्छन् । यसले फिल्मको कथा पारिवारिक सम्बन्ध र वैवाहिक जीवनको उतारचढावमा आधारित रहेको संकेत गर्छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा दीपक, केकी र सनिशासहित निर्मल शर्मा (गैंडा), कर्मा शाक्य, जितु नेपाल (मुन्द्रे), रिहान गिरी, रवीन्द्र झालगायतका कलाकारहरूको अभिनय रहेको छ । केही दिनमा अमेरिकाबाट नेपाल आउन लागेका कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि फिल्ममा हुने चर्चा छ । 

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मका निर्माता रोहित अधिकारी हुन् । रोहितले यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’, ‘फर्की फर्की’ र ‘माइतीघर’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । दीपक-दीपासँग उनको यो दोस्रो सहकार्य हो । निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा दीपकराज स्वयंको लेखन छ ।