
नेपालमा सर्वाधिक सफल मानिएको फ्रेन्चाइज फिल्म ‘कबड्डी’को पाँचौँ श्रृंखला दशैं विदामा प्रदर्शन हुने भएको छ । शुक्रबार निर्माता कम्पनी बाँसुरी फिल्म्सले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक ६ गते (२३ अक्टोबर)लाई प्रदर्शन मिति तय गरेको हो । यो मिति दशैंको टीकाको पर्सिपल्ट अर्थात् द्वादशीमा पर्छ । योसँगै दशैं रिलिजको समीकरण थप रोचक बनेको छ ।
दशैंमा यसअघि नै तीन फिल्म ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ प्रदर्शन हुने तय भइसकेको छ । यी फिल्म फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । यसको एक सातापछि ‘कबड्डी ५’ आउने भएपछि अब दशैंको बक्स अफिस भिडन्त निर्माताका लागि जुँगाको लडाइँ बन्ने देखिन्छ ।
‘कबड्डी ५’को पोस्टरमा फिल्मका तीन मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ) चारित्रिक भेषमा प्रस्तुत भएका छन् । दयाहाङ हातमा क्रिकेट ब्याट समातेर सोचमग्न अवस्थामा देखिएका छन् । विजय र बुद्धिको हाउभाउ भने फरक छ । यसले तीन घनिष्ट साथीको कथालाई फिल्मले रोचक शैलीमा प्रस्तुत गर्ने संकेत दिन्छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ, विजय र बुद्धिसहित विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, प्रमिला राईलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् ।

