
आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ । डेढ मिनेटभन्दा लामो टिजरले फिल्मको कथावस्तु संक्षिप्तमा दर्शाउने प्रयास गरेको छ । अभिनेत्री उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको टिजरमा कलेज जीवनको एकतर्फी प्रेमलाई देखाउन खोजिएको छ ।
संवादरहित टिजरमा उपासनालाई विद्यार्थी र शिक्षिकाको रूपमा देख्न सकिन्छ । एक दृश्यमा उनी स्कुलका बच्चाहरूसँग रमाइरहेकी देखिन्छिन् भने लगत्तैको दृश्यमा कलेज पढ्न गएको देखाइएको छ । कलेजमा उनको सोनम तोप्देनसँग एकतर्फी प्रेम बसेको टिजरले संकेत गर्छ । यसरी हेर्दा फिल्मले कलेज जीवनको अधुरो प्रेमकथालाई मुख्य विषयवस्तु बनाएको देखिन्छ ।
अशोक थापा मगरको निर्देशनमा बनेको यस फिल्ममा उपासना र सोनमसहित शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन (खबपु)लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा क्याप्टेन विजय लामा विशेष भूमिकामा छन् ।
एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा बेताने मगर (बबिता राना), ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । निर्देशक मगर स्वयंको लेखन रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, अशोक थापा मगरको सम्पादन तथा सरित रयान र एसडी योगीको संगीत छ ।

