फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने सबैभन्दा महत्त्वपूर्ण प्रचार सामग्री भनेकै ट्रेलर हो । यसैले फिल्म रिलिज हुनुभन्दा बढीमा १५ दिनअघि ट्रेलर सार्वजनिक गर्नु उपयुक्त मानिन्छ । तर, पछिल्लो समय फिल्म रिलिजको एक साताअघिजस्तो ट्रेलर सार्वजनिक गर्ने परिपाटी बनेको छ । यो ट्रेन्डलाई फिल्म ‘झिँगेदाउ २’ले पनि पछ्याएको छ ।
आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण केही दिन प्रचारप्रसार रोकिएपछि निर्माण पक्षले फिल्म रिलिजको चार दिनअघि ट्रेलर दर्शकमाझ ल्याएको हो । तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्व प्रस्ट पारेको छ ।
घर छाडेर हिँडेकी आमालाई सम्पत्तिको लोभमा छोरा−बुहारीले विभिन्न ठाउँमा खोजिरहेको ट्रेलरमा देख्न सकिन्छ । त्यही क्रममा आउने आरोह–अवरोह र जेठानी−देउरानीबीचको झगडालाई ट्रेलरमा रोचक शैलीमा देखाइएको छ । यसपटक फिल्मले आमाको महत्त्व दर्शाउँदै पारिवारिक द्वन्द्व र भावनात्मक सम्बन्धको कथा पेस गर्ने ट्रेलरले स्पष्ट संकेत गर्छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, उत्तम केसी, शिवहरी बैरागी नेपाललगायतका कलाकारहरूको अभिनय रहेको छ । यतिबेला फिल्मको तीज ब्याटल गीत ‘धागो छिन्यो चर्खाको’ चर्चामा छ ।

