अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । शनिबारसम्म २ करोडमाथिको व्यापार गरिसकेको फिल्मले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । विशेषगरी महिला दर्शकहरू फिल्म हेर्ने क्रममा भावुक बनेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको फिल्मको शनिबार काठमाडौंमा विशेष शो आयोजना गरिएको थियो । कलाकारहरू मदनकृष्ण श्रेष्ठ, किरण केसी, जीतु नेपाल, संविधानविद् तथा अधिवक्ता डा. भीमार्जुन आचार्य, सञ्चारकर्मी द्वय प्रकाश सुवेदी, नरेश भट्टराईलगायतको उपस्थिति रहेको विशेष प्रदर्शनीमा फिल्मको कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसा भयो ।
मदनकृष्ण श्रेष्ठले नीताको अभिनयको प्रशंसा गर्दै भने, ‘नीता ढुंगानाले यस्तो अभिनय गर्लिन् भनेर मैले कल्पना पनि गरेको थिइनँ । उनले सुरुदेखि अन्तिमसम्म आफ्नो अभिनयले बाँधेर राखेकी छन् । निर्देशनमा पनि नीताले आफूलाई अब्बल सावित गरेकी छन् । मलाई फिल्म एकदमै मन पर्यो ।’ उनले यो फिल्म हेर्दा किताब पढेभन्दा बढी शिक्षित हुने पनि बताए ।
संविधानविद् भिमार्जुन आचार्य फिल्म हेरेर निस्किँदा भावुक देखिएका थिए । उनले फिल्मको कथावस्तु र कलाकारको अभिनयले मन छोएको बताउँदै नीता ढुंगानाको अभिनयको खुलेर प्रशंसा गरे । उनले भने, ‘फिल्ममा नीता ढुंगानाले जुन अभिनय गर्नुभएको छ, त्यो स्तरको अभिनय मैले देखेकै छैन ।’ उनले यस्तो विषयमा फिल्म बनाउने आँट गरेकोमा नीतालाई धन्यवाद पनि दिए ।
त्यस्तै, हास्य कलाकार तथा गायक किरण केसी (राता मकै)ले फिल्मको कथावस्तु एकदमै बलियो लागेको बताए । उनले भने, ‘यो फिल्मको कथावस्तु एकदमै बलियो छ । निर्देशन पक्ष पनि उत्तिकै बलियो लाग्यो । नीताले आफूले आफैँलाई निर्देशन गरेर त्यो पात्रमार्फत दर्शकलाई सेकेण्ड-सेकेण्डमा रुवाउन सक्ने जुन क्षमता देखाएकी छन्, त्यो साँच्चै अद्भूत छ ।’
भदौ १२ गतेबाट प्रदर्शनमा आएको फिल्ममा नीतासहित अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले दिदीभाइको सम्बन्धलाई केन्द्रमा राखेर अटिजम भएकी युवतीको संघर्षको कथा पेस गरेको छ । फिल्ममा अटिजम पात्रको भूमिकामा नीता आफैँले अभिनय गरेकी छन् ।

