
सन् २०२७ मा अमेरिकामा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार)मा नेपालको तर्फबाट फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) सिफारिस भएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । अब यो फिल्मले ओस्कारमा ‘बेस्ट फरेन ल्याङ्ग्वेज’ विधामा प्रतिस्पर्धा गर्नेछ ।
फिल्म छनोट समितिका अनुसार ओस्कारका लागि ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) र ‘गौंथली’ले आवेदन दिएका थिए । दुई फिल्ममध्ये प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘एलिफेन्ट्स इन द फग’लाई छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ । यो फिल्म भदौ १९ गतेदेखि नेपालका हलमा प्रदर्शन भइरहेको छ ।
नेपालमा ‘तिनीहरू’ नाममा प्रदर्शन भएको फिल्मले गत जेठमा कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको दोस्रो ठूलो पुरस्कार ‘जुरी प्राइज’ जितेको थियो । कान्समा पहिलो पटक नेपाली फिल्मले यो विधामा पुरस्कार जितेको हो । यो फिल्म टोरोन्टो, मेलबर्न, बुसानजस्ता अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा समेत फिल्म छनोट भएको छ ।

अविनाश विक्रम शाहको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, गौरी मल्ल, माओत्से गुरुङ, महिमा नवबाग, आकांक्षा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कथा भनेको छ ।

