
भारतका प्रसिद्ध हिन्दू सन्त नीम करोली बाबाको जीवनबाट प्रेरित भएर निर्माण गरिएको फिल्म ‘हनुमान अंश’ले भारतीय बक्स अफिसमा धूम मच्चाएपछि यतिबेला बलिउडमा सन्त र धर्मगुरुहरूको जीवनमा फिल्म बनाउने लहर सुरु भएको छ । यही क्रममा भारतका आध्यात्मिक गुरु प्रेमानन्द जी महाराजको जीवनमाथि पनि फिल्म बन्ने भएको छ ।
किन्नर समुदाय (तेस्रो लिङ्गी)को धार्मिक संगठन वैष्णव किन्नर अखाडाकी प्रमुख शंकराचार्य हिमांगी सखीले प्रेमानन्द महाराजको जीवनमा फिल्म बनाउने घोषणा गरेकी हुन् । उनका अनुसार फिल्मको नाम ‘राधा अंश’ हुनेछ । फिल्ममार्फत प्रेमानन्दको आध्यात्मिक जीवन, उनको विचार र राधारानीप्रति उनको भक्तिलाई देखाइने सखीले जानकारी दिइन् ।
भारतीय मिडियासँगको कुराकानीमा उनले फिल्मको विषयमा निर्माण टोलीसँग प्रारम्भिक चरणको कुराकानी भइसकेको र टोलीले पनि फिल्मका लागि सहमति जनाइसकेको बताएकी छन् । उनका अनुसार फिल्मका लागि आधिकारिक अनुमति लिन केही दिनमा प्रेमानन्द महाराज र उनका अनुयायीहरूसँग भेट गर्ने तयारी छ ।
प्रेमानन्दको जीवनमा फिल्म बन्ने घोषणा भएसँगै कलाकारको रूपमा विराट कोहली र अनुष्का शर्माको चर्चा सुरु भएको छ । विराट र अनुष्काले प्रेमानन्द महाराजलाई निकै श्रद्धा गर्ने गरेका छन् । उनीहरू चारपटक प्रेमानन्द महाराजको वृन्दावनस्थित आश्रम समेत पुगिसकेका छन् । यद्यपि, फिल्ममा उनीहरू रहने वा नरहनेबारे अहिलेसम्म केही बताइएको छैन ।

