Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरुण र आँचललाई लिएर सरोजले ‘फेरि भेटौँला’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2026/09/09

movie feri vetaula

 

अभिनेत्री मनिषा कोइरालाको डेब्यू नेपाली फिल्म ‘फेरि भेटौँला’ नाममा तीन दशकपछि फेरि फिल्म निर्माण हुने भएको छ । ‘जेरी अन टप’का निर्माता सरोज न्यौपानेले यो नाममा फिल्म बनाउन लागेका हुन् । उनले मंगलबार एआई जेनेरेटेड पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । 

नयाँ वर्ष २०८४ को अवसर पारेर बैशाख १ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा ‘गौँथली’का ‘ठूले’ अर्थात् अरुण क्षेत्री मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । खासमा सरोज अरुणलाई लिएर यसै वर्ष फिल्म ‘लोकल हिरो’ बनाउने तयारीमा थिए । तर, बीचमा अर्को कथा मन परेपछि उनले तत्काललाई उक्त फिल्म थाती राख्दै प्रेमकथामा ‘फेरि भेटौँला’ बनाउन लागेका हुन् । 

रमेश चौलागाईंको लेखन रहेको फिल्ममा अरुणको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिनेछ । आँचल केही दिनअघि मात्र फिल्ममा अनुबन्धित भएकी हुन् । अब निर्माण पक्ष अर्को एक अभिनेत्रीको खोजीमा छ । फिल्ममा अहिलेसम्म निर्देशकको पनि टुंगो लागेको छैन । फिल्मको स्क्रिप्ट तयार भएपछि निर्देशक अनुबन्धित गरिने निर्माता न्यौपानेले बताए ।

अनन्या फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहने जनाइएको छ । निर्माता न्यौपानेले सार्वजनिक गरेको एआई पोस्टरले पनि त्यही संकेत गर्छ । पोस्टरमा ‘एउटा कथा बोकेको गायक’ भन्ने वाक्य लेखिएको छ । अर्थात् फिल्मले एक गायकको प्रेमकथा प्रस्तुत गर्नेछ । फिल्मको छायांकन काठमाडौं उपत्यकाभित्र गर्ने तयारी गरिएको छ ।