Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अक्षरा’ हरेक महिलाको आवाज हो : न्यान्सी खड्का

फिल्मीखबर, काठमाडौं, 2026/09/09

nancy khadka

 

पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का आफ्नो डेब्यू फिल्म ‘१२ गाउँ’ रिलिजको करिब दुई वर्षपछि पर्दामा फर्किँदैछिन् । उनको दोस्रो फिल्म ‘अक्षरा’ यही शुक्रबार (२६ भदौ)बाट प्रदर्शनमा आउँदैछ । यसमा उनले विवाहित महिलाको भूमिकामा अभिनय गरेकी छन् । फिल्मको कथा नै आफ्नो पात्रमा केन्द्रित भएकाले उनमा डर र उत्साह दुवै देखिन्छ । 

तर, पछिल्लो समय स्टारडमभन्दा कथा बिकिरहेकाले उनलाई ‘अक्षरा’प्रति ठूलो आशा छ । उनी भन्छिन्, ‘आजकाल दर्शकले स्टारडमभन्दा पनि बलियो कथा भएको फिल्म मन पराइरहनुभएको छ । त्यो हिसाबले हामीलाई पनि ठूलो आशा छ । किनकि, ‘अक्षरा’को कथा बलियो छ । यो सामाजिक सन्देश बोकेको फिल्म हो । यसैले दर्शकले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’ 

फिल्मको ट्रेलरमा न्यान्सी माता दुर्गाको अवतारमा समेत देखिएकी छन् । यसबारे उनी भन्छिन्, ‘हरेक मानिसभित्र माता दुर्गा र गणेशको रूप हुन्छ । विशेषगरी महिलाहरूले लामो समयसम्म जुन पीडा दबाएर राखेका हुन्छन्, त्यो समय आएपछि देखाउनु पनि पर्छ । यसैले फिल्ममा हामीले माता दुर्गाको अवतारलाई विम्बको रूपमा प्रयोग गरेका हौँ ।’ 

उनको बुझाइमा ‘अक्षरा’ हेर्नेभन्दा पनि महसुस गर्ने फिल्म हो । महिलाको भावना र चाहना बुझ्न पनि फिल्म हेर्नुपर्ने उनको तर्क छ । ‘फिल्मको कथामा दर्शकले धेरै नै ‘रिलेट’ गर्न सक्नुहुन्छ भन्ने लाग्छ । यो एउटा अनुभव गर्ने फिल्म हो । पात्रको ‘फिलिङ्स’ र ‘इमोसन’लाई बुझ्न पनि फिल्म हेर्नुपर्छ । एउटा वाक्यमा भन्दा यो फिल्म हरेक महिलाको आवाज हो,’ उनले भनिन् ।

उनले मिस नेपालमा सहभागी हुँदासम्म आफूले अभिनेत्री बन्नेबारे कुनै सोच नबनाएको समेत बताएकी छन् । मिस नेपाल इन्टरनेशनल भएपछि फिल्मका लागि आफैँ बाटो खुल्दै गएको उनको भनाइ छ । तर, फिल्ममा आउनुअघि आफैँलाई परीक्षण गर्न उनले आरोहण गुरुकुलमा अभिनय सिकेको थिइन् । अब भने अभिनयमै अगाडि बढ्ने उनको सोच छ ।