Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाबाट फर्किएपछि फिल्ममा बढेको सुशांकको व्यस्तता

फिल्मीखबर, काठमाडौं, 2026/08/07

Sushank Mainali

 

तपाईंले सन् २०१३ मा प्रदर्शन भएको फिल्म ‘साँघुरो’ हेर्नुभएको छ ? हेर्नुभएको छ भने त्यसका मुख्य पात्र कृष्णलाई पक्कै बिर्सनुभएको छैन । तिनै कृष्णको भूमिकाबाट फरक धारका फिल्म रुचाउने दर्शकमाझ परिचित बनेका अभिनेता हुन्, सुशांक मैनाली । यो फिल्मबाट अभिनयमा आफूलाई अब्बल सावित गरेका उनी बीचमा झन्डै एक दशक भने अमेरिकामा हराए । 

करिब ४ वर्षअघि अमेरिकाको सुखसहेल जीवन त्यागेर नेपाल फर्किएका उनी यतिबेला फिल्म निर्माण र अभिनयमा सक्रिय देखिएका छन् । नेपाल फर्किनसाथ उनले साथीहरूसँग मिलेर फिल्म ‘भूठान’ बनाए । यसपछि २०८२ सालमा प्रदर्शन भएको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट उनले ९ वर्षपछि अभिनयमा पुनरागमन गरे । 

पछिल्लो पटक गत जेठमा प्रदर्शन भएको फिल्म ‘रोल नं १’मा देखिएका सुशांक यतिबेला राजिव गुरुङको निर्देशनमा बनिरहेको फिल्म ‘आशा’को छायांकनमा व्यस्त छन् । यसबाहेक पनि उनले केही फिल्म सम्झौता गरेका छन् । चाँडै उनी अभिनीत वेब सिरिज ‘द रिपियर म्यान’ पनि रिलिज हुँदैछ । यसरी हेर्दा अमेरिकाबाट फर्किएपछि अभिनयमा उनको व्यस्तता बढेको देखिन्छ । 

आफ्नो पुनरागमनबारे उनी भन्छन्, ‘केही वर्ष मेरो आफ्नै कारणले अभिनयबाट टाढिनु पर्‍यो । अमेरिका बसाइका क्रममा केही फिल्ममा काम गरे पनि नेपालमा जस्तो निरन्तरता भने दिन सकिनँ । त्यसैले केही वर्षको अन्तरालपछि फेरि यही क्षेत्रमा फर्किएको हुँ । फर्किएलगत्तै दर्शक र फिल्मकर्मीबाट जुन माया र साथ पाएको छु, त्यो मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।’

नाटक र टेलिसिरियलमा सानो भूमिका हुँदै ‘साँघुरो’बाट मुख्य अभिनेताको रूपमा डेब्यू गरेका सुशांकले ‘टलकजंग भर्सेस टुल्के’ ‘सन्त्रास’, ‘को आफ्नो ?’ र ‘जंगे’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मबाहेक उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । अब उनी नेपालमै बसेर अभिनयलाई निरन्तरता दिने योजनामा छन् ।