‘खुस्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा एसडी योगी र अन्जु पन्तले स्वर दिएका छन् । ‘रुकुम मैकोट’का गीतकार सुरेन्द्र रानाले गीतको शब्द लेखेका हुन् भने संगीत एसडी स्वयंको छ । संगीत निर्माता भने रिकेश गुरुङ हुन् ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर र भावना मगरले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् । शेखर घर्ती मगर र सुशन तामाङ सहायक कोरियोग्राफरका रूपमा छन् ।
आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा माओत्से गरुङ, बुद्धि तामाङ, रजनी गरुङ, उषा खड्गी, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, राज काउचा मगर, दुइसाङ थिङ, सृष्टि राना मगरलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा क्याप्टेन विजय लामा विशेष भूमिकामा छन् ।
फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्मको छायांकन शैलेन्द्र डी कार्कीले गरेका हुन् भने सम्पादन अशोक थापा मगरको छ । फिल्मले मगर समुदायमा आस्थाको प्रतीक मानिने जलाकी (ढुङ्गाको स्तम्भ)लाई केन्द्रमा राखेर प्रेमकथा पस्किएको छ ।

