.jpeg)
‘अगस्त्य’का निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा देखिने भएका छन् । शुक्रबार निर्माण कम्पनी डार्क हर्स इन्टरटेनमेन्टले ‘वेलकम अन बोर्ड’ पोस्टरमार्फत फिल्ममा सौगात अनुबन्धित भएको जानकारी गराएको हो । उनीसँग निर्माताले दुई साताअघि नै लिखित सम्झौता गरेका हुन् ।
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार फिल्ममा सौगात चार फरक उमेर समूहमा प्रस्तुत हुनेछन् । उनी २५ वर्षदेखि ८० वर्षसम्मको उमेरमा देखिने जनाइएको छ । उनको भूमिकाबारे भने निर्माण पक्षले केही खुलाएको छैन । तर, केही दिनअघि सार्वजनिक भएको फिल्मको थिम पोस्टरले उनी योद्धा (सिपाही)को भूमिकामा देखिन सक्ने संकेत गर्छ ।
निर्देशक चौधरीले ‘साम्राज्य’लाई आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण फिल्मको रूपमा लिएका छन् । उनका अनुसार फिल्मको कथा, मेकिङ र प्रस्तुतीकरणमा नयाँपन ल्याउने प्रयास गरिएको छ । फिल्मले दर्शकलाई फरक अनुभव दिलाउने उनको विश्वास छ । ठूलो क्यानभासमा निर्माण हुन लागेको फिल्मका लागि पूर्वको कोशी ब्यारेक क्षेत्रमा भव्य सेट समेत निर्माण गरिँदैछ ।
‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धिसागरको लेखन रहेको फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । सह-निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् । मानकृष्ण महर्जनको छायांकन तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको भदौबाट पूर्वी जिल्लामा ७० दिनसम्म छायांकन हुनेछ ।

