Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लज्जावती’को गीतमा थानेश्वरको स्वर, श्रीकृष्णको पीडा

फिल्मीखबर, काठमाडौं, 2026/08/06

LAJJAWATI

 

यही साउन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’को वियोगान्त गीत ‘मलाई पीर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक गरिएको छ । प्रेममा विछोडपछिको भावनालाई समेटिएको गीतमा थानेश्वर गौतमको स्वर रहेको छ भने भीम कुमार ओझाको शब्द तथा सन्तोष बिसीको संगीत छ । नारायण दंगालको संगीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता श्रीकृष्ण निरौलालाई केन्द्रमा राखिएको छ । प्रेमिका मेनुका माझीसँग विछोड भएपछि उनी विक्षिप्त अवस्थामा घर छाडेर हिँडेको गीतका दृश्यहरूले संकेत गर्छन् । उनलाई खोज्न मुकुन भुसाल र जानुका विश्वकर्मा काठमाडौंका सडकमा भौतारिरहेका देखिन्छन् । यसले फिल्मको कथा प्रेम र विछोडमा केन्द्रित रहेको प्रस्ट पार्छ ।

‘बुलाकी’बाट लेखन विधामा राष्ट्रिय अवार्ड जितेका राजबहादुर सानेको निर्देशनमा बनेको यस फिल्ममा धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा, काजल भुजेल, अविरल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको लेखन निर्देशक साने स्वयंको हो ।

सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश बुढाथोकी कार्यकारी निर्माताको रूपमा छन् । आहा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, साहिल खानको ट्रेलर, बाबुल गिरीको संगीत तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।