Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आचार्य’का कारण निखिल र सञ्चिताको सम्बन्ध बिग्रिएको हो ?

फिल्मीखबर, काठमाडौं, 2026/08/06

Sanchita Luitel

 

एक साताअघि सार्वजनिक फिल्म ‘आचार्य’को फर्स्टलुक टिजरले सकारात्मकभन्दा नकारात्मक चर्चा बढी बटुल्यो । विशेषगरी टिजरको भिएफएक्सलाई लिएर निकै आलोचना भइरहेको छ । अभिनेता निखिल उप्रेतीले आगो बलेको टायर हातले घुमाएको दृश्यमा देखिएको भिएफएक्सले धेरैको आँखा बिझाएको छ । यद्यपि, निखिलका प्रशंसकहरू टिजरबाट सन्तुष्ट देखिन्छन् । 

टिजर रिलिजपछि फिल्मवृतमा भने निखिल र उनकी श्रीमती सञ्चिता लुईँटेलको सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेको छ । सञ्चिताले अहिलेसम्म फर्स्टलुक सेअर नगर्नु र उनको नाम कहीँ पनि समावेश नहुनुले निखिलसँग उनको सम्बन्ध बिग्रिएको अनुमान गरिएको छ । बजारको यो चर्चालाई सञ्चिताको बुधबारको एक पोस्टले थप मलजल गर्‍यो ।

उनले बुधबार साढे ४ बजेतिर फेसबुकको स्टोरीमा एक पोस्ट लेखेकी थिइन्, ‘जब तिम्रो कुकुर तिमीमाथि नै भुक्न थाल्छ, बुझ्नु उसलाई रोटी अरु कसैले दिइरहेको छ ।’ उनको यो सांकेतिक कटाक्ष कोप्रति लक्षित थियो भन्ने नखुले पनि निखिलसँग सम्बन्ध चिसिएको चर्चाबीच उनको उक्त पोस्ट आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, उनले उक्त पोस्ट हटाइसकेकी छन् ।

निखिल र सञ्चिताको सम्बन्ध चिसिनुको मुख्य कारण भने ‘आचार्य’सँग नै सम्बन्धित रहेको बताइन्छ । निकट स्रोतका अनुसार फिल्ममा सञ्चिताले ठूलो लगानी गरेकी छन्, जुन उनको आफ्नै आम्दानीको कमाइ हो । तर, फिल्मलाई लिएर उनले दिएका सुझाव निखिलले नमानेपछि उनीहरूबीच मनमुटाव उत्पन्न भएको फिल्मवृतमा चर्चा छ । 

यसअघि पनि गत माघमा फिल्मको छायांकनको क्रममा निखिल र सञ्चिताबीच मनमुटाव भएको खबर बाहिरिएको थियो । उनीहरूबीच लाइटम्यानको पारिश्रमिकको विषयलाई लिएर ठूलै बहस भएपछि फिल्मको छायांकन नै रोकिएको थियो । त्यसबेला सञ्चिता छायांकनस्थल छाडेर सर्लाहीबाट काठमाडौं फर्किएकी थिइन् । यसपछि लामो समय छायांकन नै हुन सकेन ।

निखिल र सञ्चिताबीच पुनः मनमुटाव उत्पन्न हुँदा अब फिल्मको काम कसरी अगाडि बढ्छ भन्ने ठूलो अन्योलता देखिएको छ । बुझिएअनुसार सञ्चिता बेगर यो फिल्म पूर्ण रूपमा तयार भएर हलमा आउन सक्ने सम्भावना न्यून छ । यसैले असोज ९ (२५ सेप्टेम्बर)मा ‘आचार्य’को रिलिज निखिल र सञ्चिताबीचको मनमुटाव साम्य हुँदा मात्र सम्भव हुने देखिन्छ ।