Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/08/06

ELEPHANTS IN THE FOG

 

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको ‘जुरी प्राइज’ अवार्ड जित्दै इतिहास रचेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)को म्युजिकल ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले भोजपुरी गीत र फिल्मका दृश्यहरू समेटिएको ट्रेलर दर्शकमाझ ल्याएको हो । 

ट्रेलरको सुरुवात ‘बलम्’ बोलको गीतबाट हुन्छ, जहाँ दुई युवती नाचिरहेका देखिन्छन् । त्यसपछि एक आमाले जंगलमा हराएकी छोरीलाई खोज्न गरेको संघर्षलाई देखाइएको छ । ट्रेलर हेर्दा फिल्मले हात्तीपीडित बस्तीमा बसोबास गर्ने लैङ्गिक अल्पसंख्यक समुदायको कथा उठाएको देखिन्छ । यो समुदायप्रति समाजको व्यवहारलाई पनि ट्रेलरमा देखाउन खोजिएको छ ।

आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई अविनाश विक्रम शाहले लेखन तथा निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशकीय फिचर फिल्म हो । यसअघि उनले ‘कालोपोथी’, ‘शाम्बाला’ र ‘हाइवे’ जस्ता फिल्म लेखिसकेका छन् भने उनी निर्देशित सर्ट फिल्म ‘लोरी’ले कान्समा ‘स्पेशल मेन्सन अवार्ड’ प्राप्त गरेको थियो ।

नेपालबाट अनुप पौडेल निर्माता रहेको यस फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, शहाबुद्दीन मियाँ, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमिशा पाण्डे, आकांक्षा कार्की, अशान्त शर्मा, सञ्जय गुप्ता दुरालगायतका कलाकारहरूले अभिनय गरेका छन् । फिल्मको निर्माणमा नेपालसँगै फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाले पनि सहकार्य गरेका छन् ।