
फिल्म ‘गौँथली’ले ठूलो व्यावसायिक सफलता हासिल गरेपछि यसका मुख्य अभिनेता अरुण क्षेत्रीको फिल्ममा माग बढ्न थालेको छ । यसैक्रममा मंगलबार उनी नयाँ फिल्ममा भित्रिएका छन् । मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘म मदनकृष्ण’मा उनी अनुबन्धित भएका हुन् । फिल्ममा उनले कलाकार हरिवंश आचार्यको भूमिकामा अभिनय गर्नेछन् ।
अरुणले ‘म मदनकृष्ण’सँगै यही टिमले आगामी वर्ष निर्माण गर्ने हरिवंश आचार्यको जीवनकथामा आधारित फिल्म पनि एकैपटक सम्झौता गरेका हुन् । अर्थात् दुवै फिल्ममा उनी हरिवंशको भूमिकामा देखिनेछन् । रोचक कुरा के छ भने अरुणले २०७९ सालमा प्रदर्शन भएको आफ्नो डेब्यू फिल्म ‘महापुरुष’मा हरिवंशको कान्छो छोरा ‘विज्ञान’को भूमिकामा अभिनय गरेका थिए ।
राजकुमार श्रेष्ठको लगानीमा बन्न लागेको यस फिल्ममा मदनकृष्णको भूमिका महेश त्रिपाठीले निर्वाह गर्नेछन् । उनकी श्रीमती यशोधाको भूमिकामा भने केकी अधिकारी देखिनेछिन् । फिल्मका केही दृश्यमा मदनकृष्णलाई पनि देख्न पाइनेछ । फिल्ममा उनको बाल्यकाल, कलाकारिता यात्रा, जागिरे जीवन, हरिवंश आचार्यसँगको मित्रतालगायतका विभिन्न पाटोलाई देखाइनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ (मदनकृष्णका छोरा), देशभक्त खनाललगायतका कलाकारहरूको अभिनय रहनेछ । आगामी भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने यो फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन् ।

