.jpg)
‘गजनी’का चर्चित भिलेन प्रदीप रावतले मंगलबार साँझ उपचारका क्रममा अन्तिम सास लिए । ५ वर्षदेखि ब्लड क्यान्सरसँग जुधिरहेका उनी केही सातादेखि मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचाररत थिए । उनको निधनको खबरले यतिबेला बलिउड शोकमा डुबेको छ । भारतीय कलाकारहरूले उनीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
कलाकारको रूपमा भारतीय फिल्म उद्योगमा ठूलो योगदान पुर्याएका प्रदीपले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालमलगायत विभिन्न भाषाका २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । त्यसमा तीनवटा फिल्म नेपाली पनि पर्छन् । उनले ‘ह्रस्व दीर्घ’बाट नेपाली फिल्ममा डेब्यू गरेका थिए । यसपछि ‘आ बाट आमा’मा देखिएका उनले यसको दोस्रो श्रृंखलामा पनि अभिनय गरेका छन् ।
उनले बलिउडभन्दा दक्षिण भारतीय फिल्ममा धेरै अभिनय गरे, जहाँ उनी प्रायः खलनायकको भूमिकामा देखिन्थे । दक्षिणतर्फ उनको पहिलो फिल्म नै ‘बाहुबली’ निर्देशक एस.एस. राजामौलीको सन् २००४ मा प्रदर्शन भएको ‘स्ये’ थियो । त्यसपछि उनी तमिल फिल्म ‘गजनी’मा देखिए । यसको हिन्दी रिमेकमा पनि उनको मुख्य भूमिका थियो ।
केही वर्षअघि भारतीय समीक्षक सिद्धार्थ कन्ननसँगको अन्तर्वार्तामा रावतले बलिउडभन्दा दक्षिण भारतीय फिल्म उद्योग रोज्नुको कारणबारे खुलाएका थिए । उनका अनुसार बलिउडको तुलनामा दक्षिण भारतीय फिल्ममा कलाकारहरूले धेरै बढी पारिश्रमिक पाउँछन् । यही कारण आफूले बलिउडभन्दा साउथ फिल्ममा बढी काम गरिरहेको उनको भनाइ थियो ।
उनले भनेका थिए, ‘आजको समयमा मुम्बईभन्दा दक्षिण भारतीय फिल्म उद्योगमा कलाकारले धेरै राम्रो पारिश्रमिक पाउँछन् । यदि मुम्बईमा १०० रुपैयाँ पाइन्छ भने त्यहाँ ३०० रुपैयाँसम्म दिइन्छ । अर्थात् पारिश्रमिकमा करिब तीन गुणाको अन्तर छ । त्यहाँ अर्को राम्रो कुरा के छ भने निर्मातासँग पारिश्रमिक मागिरहनुपर्दैन । बलिउडमा भने आफ्नो पैसा पाउन पनि पटक–पटक भन्नुपर्छ ।’

प्रदीप रावतकै कारण आमिरलाई मिलेको थियो ‘गजनी’
सन् २००८ मा रिलिज भएको ‘गजनी’ अभिनेता आमिर खानको करिअरकै उत्कृष्ट फिल्ममध्ये मानिन्छ । तर, यो फिल्मका लागि आमिर पहिलो रोजाइ भने थिएनन् । यसका निर्देशक एआर मुरुगदास सलमान खानलाई लिएर फिल्म बनाउन चाहन्थे । तर, प्रदीप रावतले एआरलाई आमिरको नाम सिफारिस गरेपछि सलमानसम्म फिल्मको अफर नै पुग्न पाएन ।
‘गजनी’का लागि आमिरको नाम सिफारिस गरेकोबारे प्रदीपले एक अन्तर्वार्तामा भनेका थिए, ‘मुरुगादास ‘गजनी’को हिन्दी रिमेकमा सलमानलाई लिन चाहन्थे । त्यसबेला मलाई लाग्यो कि सलमान रिसाहा छन् र मुरुगादास अंग्रेजी या हिन्दीमा कुरा गर्दैनन् । यसैले छायांकनको बेला बिना कारण कुनै समस्या आउन सक्छ भनेर मैले नै आमिरलाई लिन सुझाव दिएको थिएँ ।’

